आज्ञा खबर
धनुषा
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार गठन भएयता प्रदेशसभाले बिजनेस पाएको छैन । शुभकामना आदानप्रदान र सभामुख÷उपसभामुख चयनमा ब्यस्त रहेको मधेश सरकार कानुन बनाउनेतर्फ उदासीन देखिएको छ ।
प्रदेशसभाको बैठक पछिल्लोपटक गएको फागुन ४ गते बसेको थियो त्यसपछी सरकार संग बिजनेसको एजेन्डा अभावमा बैठक बस्न नसकेको मधेश प्रदेश सचिवालयका सचिव रञ्जीत यादवको भनाई छ। उनले भने, “दुई÷चारवटा बिजनेस आएपछि प्रदेशसभा नियमित रूपमा सञ्चालन हुन्छ ।”
विगतमा प्रदेशसभामा दर्ता गरिएका कतिपय विधेयकको प्रक्रिया अगाडि बढाइएको छैन । कतिपय विधेयकहरू संसदीय समितिमै रहेको अवस्थामा प्रदेशसभाको पहिलो कार्यकाल सकिएको थियो ।
ती विधेयकहरूलाई पुनः सभामा प्रवेश गराउन वर्तमान सरकारले स्वामित्व लिई पुनः प्रदेशसभामा पठाउनुपर्ने कानुनी प्रवधान छ,” उनले भने, “विगतमा सभाबाट पास हुन नसकेको विधेयकहरूलाई पनि स्वामित्व लिई सरकारले अगाडि बढाउन सक्छ ।”
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण कानुन निर्माण प्रभावित भएको कानुन तथा प्रदेश मामिलामन्त्री राजकुमार लेखी बताउँछन् ।
उनले कुन कानुन तत्काल निर्माण गर्नुपर्ने हो, त्यसको प्राथमिकता अनुसार सूची तयार गरेर प्रदेश सरकार अगाडि बढ्छ ।”
प्रदेश सरकारले अहिलेसम्म ५७ कानुन बनाएको छ । तीमध्ये ५५ वटा ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको छ । प्रदेशले बनाएको ऐन र संघले बनाएको ऐन बाझिए प्रदेशले बनाएको ऐनमा स्वतः खारेज हुने संवैधानिक व्यवस्था छ ।
