आज्ञा खबर
रौतहट
पछिल्लो समय रौतहटमा आलु खेती गर्ने किसान घटेका छन्। आलुखेतीका लागि यो वर्ष मौसम अनुकूल भए पनि रौतहटका किसानले लागतअनुसारको आम्दानी नहुने गरेको भन्दै खेती गर्न छाडेका हुन्।
जिल्लाको वृन्दावन नगरपालिका–१ बलरीका किसान अर्जुन राउतले आलुखेतीका लागि बीउ महँगोमा खरिद गरेको बताए। उनले नेपाली आलुको बीउ स्थानीय पालिकाले उपलब्ध नगराएकाले भारतबाट खरिद गरेर ल्याएकोमा कमसल परेको बताए। उनले यो वर्षको मौसम आलुखेतीका लागि अनुकूल रहेको तर बीउका कारण उत्पादन आशाप्रद रूपमा नभएको बताए।
आलुखेतीबाट रौतहटका किसानले लगानीअनुसारको प्रतिफल नपाएपछि आलुखेती गर्ने क्रम घटदै गएको छ। वर्षेनि यही समस्या झेल्नु परेकाले रौतहटमा आलुखेतीतर्फ आकर्षण घटेको उनको भनाइ छ।
स्थानीय पालिका गठनपूर्व कृषि विकास कार्यालयबाट उपलब्ध हुने बीउ गुणस्तरीय भएकाले उत्पादन बढेको थियो। पालिका गठनपछि पालिकामा कृषि गाभिएपछि कृषि विकास कार्यालय प्रदेशमा गाभिएर कृषि ज्ञानकेन्द्र भएको छ।
केन्द्रले किसान लक्षित कार्यक्रमहरू ल्याउन छाडेको छ। केन्द्रबाट किसानहरूले आलुको बीउ नपाएकाले छिमेकी भारतीय बजारमा आश्रित हुनुपरेको हो।
भारतीय बजारमा कमसल आलुको बीउ पाउने गरेको किसानको गुनासो छ। गुणस्तरीय बीउ भएको भए योपटक मौसम अनुकूलताले आलुखेतीमा व्यापक वृद्धि हुने किसानको अनुमान छ।
मौसमको अनुकूलताले यो वर्ष गत वर्षको तुलनामा आलुखेती कम भए पनि उत्पादन भने बढेको छ।
थाहा खबरबाट





































