नेपाली नागरिकता लिन खोज्ने भारतीय युवकसहित वडाध्यक्ष र वडासचिव पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
गौशला
महोत्तरीमा नेपाली नागरिकता लिन खोजेका एक भारतीय युवक, नागरिकता बनाउन सिफारिस गरेका वडा अध्यक्ष र जन्मदर्ता बनाउने वडा सचिव पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मानिकचौक पश्चिमी पञ्चायत वडा नम्बर–१० बस्ने १८ वर्षीय आकाश कुमार साह रहेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

मनरासिस्वा नगरपालिका वडा नम्बर–९ बस्ने मामा राजकिशोर साह र माईजु उर्मिला देवी साहलाई बुवा–आमा बनाएर सोमबार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पुगेका आकाशलाई नायब सुब्बा भरत यादवले नागरिकता दिनु अगाडि सोधपुछ गर्दा उनी भारतीय नागरिक रहेको तथ्य खुलेपछि पक्राऊ गरिएको हो ।

नागरिकताको लागि आईतबार नै जिल्ला प्रशासन कार्यालय महोत्तरी पुगेका आकाशको भारतीय शैक्षिक प्रमाण पत्र देखेपछि कर्मचारीलाई शंका लागी नागरिकता दिएनन र उनका बुवा बनेर आएका मामा राजकिशोरलाई सनाखत गराई सोमबार नागरिकता दिने भनी फर्काएका थिए ।

तर सोमबार आकाश नागरिकता लिन आउँदा नासु भरत यादव सहितको कर्मचारी टोलीले उनीसँग आवश्यक सोधपुछ गर्दा उनी भारतीय नागरिक ठहरिएपछि उनलाई तत्कालै पक्राउ गरिएको थियो ।

पक्राउ परेपछि उनलाई नागरिकताको लागि सिफारिस गर्ने वडा अध्यक्ष शशिभूषण झा र जन्मदर्ता बनाउने वडा सचिव धर्मेन्द्र कुमार लाललाई पनि जिल्ला प्रशासन कार्यालयले बोलाएका थिए ।

आकाशले फर्जी रुपमा बुवाआमाको नाम कम्प्युटर माध्यमबाट स्केन गरेर माध्यमिक परीक्षाको नक्कली भारतीय शैक्षिक प्रमाण पत्र बनाएर मामा र माईजुको नाउँ बुवाआमाको महलमा लेखेर ल्याएका छन् भने उनको जन्मदर्तामा मामामाईजुलाई बुवाआमा बनाएर माघ ४ गते मनरासिस्वा–९ बाट जन्मदर्ता प्रमाण पत्र जारी भएको खुलासा भएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले नेपाली नागरिकता प्रमाण पत्र लिन खोजेका युवक आकाश, नागरिकता बनाउन सिफारिस गरेका वडा अध्यक्ष शशिभूषण झा र जन्मदर्ता बनाउने वडा सचिव धमेन्द्र कुमार लाललाई आवश्यक सोधपुछ गरि आवश्यक कारबाहीको लागि मंगलवार राति नै जिल्ला प्रहरी कार्यालयमा पठाइएको सहायक प्रजिअ न्यौपानेले बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...