आज्ञा खबर
पर्सा
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पुराना पार्टीहरुलाई हेर्दाहेर्दै जनता थाकिसकेकोले आफनो पार्टी वैकल्पिक शक्ति बन्नेतर्फ अघि बढेको बताएका छन।
वीरगञ्जमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले मंसिर ४ गते भएको निर्वाचनमा पाएको मतको आधारमा जनमत जनमत पार्टी ठूलो बनिसकेको बताएका हुन्।
उनले भने, ‘जनमत पार्टीको समानुपातिक मत हेर्नुहुन्छ भने मधेस प्रदेशमा जसपाभन्दा पनि ठूलो पार्टी छ,’ उनले भने, ‘लोसपाभन्दा पनि ठूलो पार्टी जनमत पार्टी हो। यति वाधा व्यवधानको बाबजुत पनि राष्ट्रिय पार्टी पनि बन्न सफल भयौँ।’
चुनाव लड्न सक्ने उम्मेदवासित खर्च गर्ने पैसासमेत नभएको अवस्थामा चुनाव लडेर आफ्नो पार्टी राष्ट्रिय पार्टीसमेत बन्न सफल भएको उनले बताए।
ठूला पार्टी चुनावमा जान डराएको भन्दै उनीहरुले गठबन्धन गरेर चुनाव लडेको भए पनि अफ्नो पार्टी एक्लै चुनावमा भाग लिएर राष्ट्रिय पार्टी बनेको राउतले बताए।
अरु पार्टीको सम्भावना देशमा सकिएको भन्दै राउतले पुराना पार्टी पुरानो गाडीजस्तो भइसकेको टिप्पणी गरे। पुराना पार्टी पुरानो गाडीजस्तो भइसकेपछि नयाँ गाडी चढ्नुपर्ने आवश्यकता आउने भएकाले अहिले जनताले नयाँ पार्टीको रुपमा जनमत पार्टीप्रति आकर्षित बनेको राउतले बताए।





































