आज्ञा खबर
धनुषा
मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मङ्गलबार नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषदमा सहभागिता भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो । माओवादीको तर्फबाट पठाइएका एक मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मङ्गलबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।
यसअघि मुख्यमन्त्री यादवले २९ पुसमा तीन जना मन्त्रीसँगै शपथ ग्रहण गरेका थिए भने २० माघमा छ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री गरी १५ सदस्यीय मधेस प्रदेश सरकारले पूर्णता पाएको छ ।
पहिचान र जनसंख्याको आधारमा शक्ति बाँडफाँड गर्नुपर्ने भन्दै झन्डै दुई दशक भन्दा बढी आन्दोलन भएको मधेस प्रदेशको सरकारमा झन्डै ३० प्रतिशत भन्दा बढी जनसंख्या ओगेटेको गैरमधेसी (पहडी) र दलित समुदायबाट एकजना पनि समावेश गरिएको छैन ।
