आज्ञा खबर
काठमांडौ
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘ज्येष्ठ नागरिकको उत्थानशीलता ः बदलिँदो विश्वको लागि अपरिहार्यता’ भन्ने राष्ट्रिय नाराकासाथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । नेपालको संविधान २०७२ ले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी उनीहरूलाई राज्यको तर्फबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको छ ।
दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिदै ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको र ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण समेत गराएकि छिन ।





































