अमृत कुमार महतो
बर्दिवास, असोज ९ गते ।
कृषकलाई सहुलियतका लागि महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरमा किसान कार्ड लागू गरेको छ ।
बर्दिवास नगरपालिकामा पहिलो पटक मल, बिउ, कृषि औजार लगायतका कृषि सामाग्रीहरुमा अनुदान सहुलियतका लागि ९ नम्बर वडा कार्यालयले किसान कार्ड लागू गरेको हो ।
किसानलाई सहुलियत मल दिन किसान कार्ड स्किम संचालन गर्न लागिएको वडा अध्यक्ष घुरन महतोले बताए । वडा जनप्रतिनिधिहरुको बैठकले किसान कार्ड स्किम सञ्चालन गर्ने निर्णय भएको उनले जनाए ।
किसानहरुलाई सहकारी मार्फत मल लिनको लागि हुने समस्याको समाधान हुने अपेक्षाको साथ किसान कार्ड स्किमको व्यवस्था मिलाएको वडाध्यक्ष महतोले बताए ।
‘विशेषगरी कृषकहरुले मल, बिउ, कृषि औजार, कृषि सामाग्री लगायत अन्य आवश्यक कृषि सम्बन्धि वस्तुहरु खरिद गर्नको लागि किसान कार्ड उपयोगी हुने विश्वास लिएका छौं । मलको अभावमा खेति गर्ने समयमा कृषक चिन्तित बन्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि कार्ड सहयोगी बन्ने हाम्रो अपेक्षा छ,’ वडाअध्यक्ष महतोले भने ।
वडा कार्यालयले लागु गर्न लागेको किसान कार्ड स्किमको पशुपतिनगरका कृषकहरुले स्वागत गरेका छन् । कृषकहरुलाई सहकारीले मल उपलब्ध नगराउँदा खेतीपातीमा आर्थिक अभावका कारण समस्यामा पर्ने कृषकहरुलाई यस स्किम मार्फत राहत पुग्ने पशुपतिनगरका कृषक रामप्रसाद महतोले बताए ।
किसान कार्ड मार्फत साना किसानहरु पनि लाभान्वित हुने भएकाले वडा कार्यालयले शिघ्र रुपमा यसको कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।





































