आज्ञा खबर
धनुषा
राष्ट्रिय बाल दिवस बुधवार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नारासाथ ५८औं राष्ट्रिय बालदिवस मनाइएको हो ।
आईतवार बालकालिकाका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था तथा विद्यालयले अलग–अलग कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएका छन् । नेपालमा प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउँदै आएको छ ।
धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित चिल्ड्रेन्स् गाड्र्रेन इङ्गलिस बोर्डिङ स्कुलले प्रभातफेरीलगायतका कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाएका हुन् । विद्यालय परिसरबाट निकालिएको प्रभातफेरी ढल्केवरचौकको विभिन्न भागमा परिक्रमा गरिएको थियो ।
दिवसको अवसरमा विद्यालयले विद्यार्थीहरुको सिर्जनशीलताको विकाससँगै उनीहरुमा रहेको प्रतिभा पहिचान गर्ने समेतको कार्यक्रमको आयोजना गरिएको थियो । मिथिला नगरपालिकाको समन्वयमा विद्यालयले बालबालिकाहरुमा रहेको प्रतिभा प्रस्टफुटन गराउने उद्धेश्यकासाथ नगरस्तरीय माध्यमिक तहको नृत्य प्रतियोगिताको आयोजना गरेका थिए ।
प्रतियोगितामा विभिन्न विधाहरुमा उत्कृष्ट स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्रिन्सीपल नरेन्द्र शर्माले जानकारी दिए । नगरभित्र रहेका १२ वटा माध्यमिक विद्यालयमध्ये ९ वटा विद्यालय प्रतियोगितामा भाग लिएको उनले बताए ।
त्यसमध्ये प्रतियोगितामा चिल्ड्रेन्स् गाड्र्रेन इङ्गलिस बोर्डिङ स्कुल प्रथम, द्वितियमा विनायक इङ्गलिस बोर्डिङ स्कुल ढल्केवर र सनफलावर इङ्गलिस बोर्डिङ स्कुल बेंगाडावर तृतिय स्थान ल्याएको प्रिन्सीपल शर्माले जनाए । उनका अनुसार प्रथम, द्वितिय र तृतिय स्थान ल्याउने विद्यालयलाई शिल्ड, प्रतियोगी विद्यार्थीलाई मेडल र प्रतियोगितामा सहभागी सबै विद्यालयका प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
मिथिला नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता काफ्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रतियोगी विद्यालयका प्रिन्सीपल तथा शिक्षक प्रतिनिधीहरु, विद्यार्थीहरुलगायतको उपस्थिती रहेको थियो ।





































