सुभद्रा भुजेल
बर्दिवास
महोत्तरीको बर्दिवास क्षेत्रमा धान खेतीका लागि आवश्यक रासायनिक मलको अभाव देखिएको छ। खेतीको मुख्य सिजनमा आवश्यकताअनुसार मल उपलब्ध हुन नसकेपछि किसानहरू समस्यामा परेका छन्।
धान रोपाइँ तथा रोपाइँपछि आवश्यक पर्ने युरिया, डीएपीलगायतका मल सहज रूपमा नपाउँदा खेती प्रभावित हुने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। स्थानीय सहकारीमा मल लिन पुगेका किसानले मागअनुसार मल नपाएको गुनासो गरेका छन्।
बर्दिवास क्षेत्रका किसानका अनुसार धान खेतीका लागि मलको आवश्यकता बढिरहेको समयमा सीमित मात्रामा मात्रै मल उपलब्ध हुने गरेको छ। मलका लागि पटक–पटक बिक्री केन्द्र सहकारी धाउनुपर्दा समय र खर्चसमेत बढेको उनीहरूको भनाइ छ।
“धान खेतीका लागि मल समयमा हाल्न सकिएन भने उत्पादनमा असर पर्न सक्छ। बजारमा मल खोज्दा पनि आवश्यक परिमाणमा पाइँदैन,” बर्दिवासका एक किसानले भने।
किसानहरूले सरकारले खेतीको क्षेत्रफल र किसानको वास्तविक आवश्यकताका आधारमा मलको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। उनीहरूले मल वितरण प्रणालीलाई व्यवस्थित गरी गर्न स्थानिय सरकारसंग समेत आग्रह गरेका छन्।
धान नेपालको तराई क्षेत्रमा प्रमुख खाद्यान्न बाली हो। समयमा मल, बीउ र सिँचाइको व्यवस्था हुन नसक्दा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा समेत असर पर्ने किसानहरूको भनाइ छ।
यता, कृषि क्षेत्रसँग सम्बन्धित निकायले भने किसानलाई आवश्यक पर्ने रासायनिक मल उपलब्ध गराउन पहल भइरहेको जनाएको छ। तर, मागअनुसार पर्याप्त मल कहिलेसम्म सहज रूपमा उपलब्ध हुन्छ भन्ने विषयमा किसानहरू अझै ढुक्क हुन सकेका छैनन्।
मलको अभाव लामो समयसम्म कायम रहेमा धानको उत्पादन घट्न सक्ने भन्दै किसानहरूले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्। उनीहरूले खेतीको महत्वपूर्ण समयमा किसानलाई आवश्यक परिमाणमा मल उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन्।
