आज्ञा खबर
जलेश्वर
प्रादेशिक अस्पताल जलेश्वरमा लामो समयदेखि भिडियो एक्सरे अर्थात् अल्ट्रासाउन्ड सेवा सञ्चालनमा नआउँदा उपचारका लागि पुग्ने बिरामी मर्कामा परेका छन्। विशेषगरी गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षणका लागि निजी स्वास्थ्य संस्थाको सहारा लिनुपर्ने अवस्था आएको छ।
अस्पतालमा भिडियो एक्सरे सेवा साउन २ गतेदेखि बन्द छ। सेवा बन्द हुनुको मुख्य कारण भिडियो एक्सरे गर्ने चिकित्सकलाई उपलब्ध गराइने प्रोत्साहन भत्ता (इन्सेन्टिभ) सम्बन्धी विवाद रहेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनले सुरुमा प्राविधिक समस्या देखाउँदै सेवा बन्द भएको सूचना सार्वजनिक गरे पनि पछि निमित्त कार्यालय प्रमुख डा. रवि श्रीवास्तवले चिकित्सकलाई इन्सेन्टिभ उपलब्ध गराउने विषयमा समस्या देखिएपछि सेवा प्रभावित भएको स्पष्ट पारेका छन्।
उनका अनुसार भिडियो एक्सरे सेवा प्रदान गर्दै आएका डा. रोशन साहले इन्सेन्टिभको विषय समाधान नभएसम्म सेवा सञ्चालन गर्न नसकिने अडान लिएपछि सेवा रोकिएको हो। आर्थिक वर्ष २०८२÷८३ को इन्सेन्टिभ उपलब्ध हुन नसक्दा समस्या उत्पन्न भएको उनको भनाइ छ।
“सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ,” डा. श्रीवास्तवले भने।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रोहितप्रसाद ठाकुरका अनुसार इन्सेन्टिभ उपलब्ध गराउने विषयमा समितिले यसअघि नै निर्णय गरिसकेको थियो। उनका अनुसार जेठ २८ गते बसेको समितिको बैठकले चिकित्सकलाई इन्सेन्टिभ उपलब्ध गराउने निर्णय गरे पनि निर्णय कार्यान्वयन हुन नसक्दा अहिलेको अवस्था आएको हो।
समितिको निर्णय कार्यान्वयन किन हुन सकेन भन्ने विषयमा प्रशासनसँग जानकारी लिने काम भइरहेको अध्यक्ष ठाकुरले बताए।
अस्पतालमा दैनिक एक दर्जनभन्दा बढी महिला भिडियो एक्सरे गराउन आउने गरेको प्रशासनको भनाइ छ। सेवा बन्द भएपछि उनीहरू निजी स्वास्थ्य संस्थामा पुगेर महँगो शुल्क तिर्न बाध्य भएका छन्। आर्थिक रूपमा कमजोर परिवारका बिरामीका लागि थप खर्चको भार परेको स्थानीयको गुनासो छ।
जलेश्वरका एक जना स्थानियका अनुसार अस्पतालभित्रको व्यवस्थापकीय समस्या र समन्वयको अभावको असर सर्वसाधारण बिरामीमाथि परेको छ। अस्पतालजस्तो संवेदनशील संस्थामा आन्तरिक समस्या लामो समयसम्म कायम राख्न नहुने भन्दै तत्काल अल्ट्रासाउन्ड सेवा सञ्चालन गर्न सम्बन्धित निकायसँग स्थानियहरुले माग गरेका छन्।
सेवा सञ्चालनका लागि अस्पताल प्रशासन र व्यवस्थापन समितिले पहल भइरहेको दाबी गरे पनि झण्डै एक महिनासम्म सेवा नियमित हुन नसक्दा बिरामीमा निराशा बढेको छ। स्थानीयवासीले चिकित्सकको इन्सेन्टिभसम्बन्धी विवाद तत्काल टुंग्याएर अस्पतालबाटै सहज र सुलभ रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउन माग गरेका छन्।
