बर्दिबासमा गुञ्जियो दुई दशक पुरानो भाकामा परियारको नयाँ प्रस्तुति

[sharethis-inline-buttons]

जिबनराज दहाल

बर्दिबास

लामो समयदेखि लोक तथा दोहोरी गीत–सङ्गीतमा सक्रिय गायक तथा सङ्गीतकार बेलबहादुर परियारले आफ्नो पुरानो भाकालाई नयाँ स्वरूप दिँदै नयाँ लोकगीत ‘तिमीलाई मैले सानू सकिन बिर्सन’ सार्वजनिक गरेका छन्।

बर्दिबासस्थित आयोजित एक बिशेष कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य कृष्ण गौतमले गीतको विमोचन गरे काहुँन। कार्यक्रमका प्रमुख अतिथि गौतमले लोकदोहोरी क्षेत्रका सर्जकले निरन्तर सिर्जनामा सक्रिय रहनुले नेपाली लोकसङ्गीतलाई थप समृद्ध बनाउने बताए। कार्यक्रममा गीतको भिडियोसमेत प्रोजेक्टरमार्फत प्रदर्शन गरिएको थियो।

करिब दुई दशकअघि गाउँबेशी मेलापातमा आफूले गाएको लोक भाकालाई पुनः आफ्नै सङ्गीतमा नयाँ ढङ्गले प्रस्तुत गरिएको परियारले बताए। २०४७ सालदेखि गीत–सङ्गीत क्षेत्रमा सक्रिय भए पनि सोचेजस्तो निरन्तरता दिन नसकेको उल्लेख गर्दै उनले युवावस्थादेखिको आफ्नो सांगीतिक रहर पूरा गर्ने उद्देश्यले नयाँ गीत सार्वजनिक गरेको बताए।

गीतमा परियारको स्वर तथा सङ्गीत रहेको छ भने रचना रिमालले पनि स्वर दिएका छन्। नारायण दङ्गालको एरेन्ज र गोपाल दयालको रेकर्डिङ रहेको गीतको भिडियोमा सुजाता भट्टराई, अशोक लाखे, राजाराम श्रेष्ठ र सरु भुजेलले अभिनय गरेका छन्। शैलेस श्रेष्ठको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी ए ए स्टार मिडियाले गरेको हो। गीत परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

गीत विमोचन कार्यक्रममा प्रगतिशील लेखक संघ (प्रलेस) मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरेले आर्थिक चुनौतीका बीच पनि सिर्जनालाई निरन्तरता दिनु प्रशंसनीय भएको बताए। बर्दिबास उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुरेन्द्र लामाले परियारले लोकभाका र मौलिक संस्कृतिको संरक्षणमा पुर्‍याउँदै आएको योगदानको चर्चा गरे।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोले परियारका गीतमा आम मानिसका सुख, दुःख र जीवनका भोगाइ झल्किने गरेको बताए। उनले परियारलाई ‘जनताको गायक’का रूपमा चित्रित गर्दै उनका सिर्जनाले स्थानीय जीवन र समाजका अनुभूतिलाई गीतमार्फत उजागर गरेको उल्लेख गरे।

प्रतिष्ठानका मधेस प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्माले पनि नयाँ गीतको सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा परियारले गीत सार्वजनिक गर्न उपस्थित भएर हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले उमेर ढल्किँदै गए पनि संगीतप्रतिको आफ्नो रुचि र सिर्जनाको चाहना अझै जीवित रहेको बताए।

परियारका यसअघि ‘जाग नेपाली वीर नेपाली (स्वदेश गान)’, ‘सिन्धुलीका सुसेलीहरू’, ‘राखौं है पियारी मीठो सम्झना’, ‘गरौं है रमाइलो (देउसी–भैलो)’, ‘सुनको थैली चाँदीको झुम्काना’ र ‘फूल खसिगो माया बसिगो’ लगायतका लोक तथा दोहोरी गीत सार्वजनिक भइसकेका छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीका सचिव रमेश खत्री पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, स्थानीय पत्रकार, कलाकार, समाजसेवी तथा गीत–सङ्गीत क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...