आज्ञा खबर
जनकपुरधाम
पछिल्ला केही दिनदेखि तनावग्रस्त बनेको मधेश प्रदेशमा जनजीवन विस्तारै सामान्य हुन थालेको छ। सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएपछि गत बिहीबारदेखि विभिन्न जिल्लामा उत्पन्न भएको तनाव अहिले क्रमशः कम हुँदै गएको हो।
गृहमन्त्री सुधन गुरुङ र मृतक यादवका परिवारबीच शुक्रबार लिखित सहमति भएपछि प्रदेशका अधिकांश स्थानमा शान्ति र सामान्य अवस्था फर्किन थालेको छ। त्यसपछि धनुषा, सिरहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले लागू गरेको कर्फ्यू तथा निषेधाज्ञा समेत हटाइएको छ।
प्रतिबन्ध हटाइएसँगै ती क्षेत्रमा सार्वजनिक यातायात सञ्चालनमा आएको छ भने बजार, पसल तथा अन्य व्यापारिक गतिविधि पनि पुनः सुचारु भएका छन्। दैनिक कामकाजमा सर्वसाधारणको चहलपहल बढ्दै गएको स्थानीयवासीले बताएका छन्।
स्थानीय विनोद साहका अनुसार यातायात सेवा सञ्चालनमा आएपछि सर्वसाधारणको आवतजावत सहज भएको छ र जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किरहेको छ।
यसैबीच सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिन सक्ने अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव, शान्ति र आपसी सहकार्य कायम राख्न सबै पक्षसँग आग्रह गरेका छन्।
