आज्ञा खबर
बर्दिबास
महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा शनिबार बिहानदेखि स्थानीय सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले विरोध प्रदर्शन गर्दै विपी राजमार्गमा आवागमन अवरुद्ध गरेका छन्। वनसम्बन्धी घटनापछि दर्ता गरिएको मुद्दा फिर्ता हुनुपर्ने माग राख्दै उनीहरूले सडकमा धर्ना दिएका हुन्।
प्रदर्शन बिहान करिब ७ बजेदेखि सुरु भएको हो। आन्दोलनकारीहरूले विभिन्न नाराबाजी गर्दै जेठ महिनामा सम्बन्धित पक्षबीच भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न, घटनासँग सम्बन्धित मुद्दा खारेज गर्न तथा जिम्मेवार अधिकारीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।
सडक अवरुद्ध भएपछि पूर्व–पश्चिमतर्फ सञ्चालन हुने सवारीसाधन दुवैतर्फ लामो दूरीसम्म रोकिएका छन्। राजमार्गमा यात्रु बोकेका बस, मालवाहक ट्रक र अन्य सवारीसाधन रोकिँदा यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।
स्थानीय अगुवाहरूका अनुसार वन प्रशासनसँग भएको विवाद समाधानका लागि यसअघि सहमति भए पनि त्यसको पालना नभएको र उल्टै केही व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएकाले आन्दोलन गर्न बाध्य भएको बताएका छन्।
यस विषयमा केही दिनअघि स्थानीय तह, प्रशासन, सुरक्षा निकाय तथा राजनीतिक दलबीच छलफलसमेत भएको थियो। छलफलका क्रममा मुद्दा फिर्ताबारे स्थानीय पक्षले जोडदार माग राखे पनि प्रशासनले अनुसन्धान प्रक्रिया जारीराखेर तत्काल कुनै निर्णय गर्न नसकिने अडान दोहोर्याएको थियो।
यता स्थानीय पक्षले प्रशासनलाई दिएको समयसीमा समाप्त भइसकेपछि आन्दोलनको कार्यक्रम लागू गरिएको जनाएको छ। माग पूरा नभएसम्म आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत आन्दोलनकारीहरूले दिएका छन्।
उता, जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने घटनासम्बन्धी मुद्दा कानुनी प्रक्रियाअनुसार अनुसन्धानको चरणमा रहेको जनाएको छ। प्रहरीका अनुसार राजमार्गको सुरक्षा अवस्था निगरानीमा राखिएको छ भने परिस्थितिलाई थप तनावपूर्ण हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ।
