अनुगमनको शैलीप्रति महोत्तरीका व्यवसायीको आपत्ति, सुधार नभए आन्दोलनको चेतावनी

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिबास

महोत्तरीका होटल तथा व्यापारिक क्षेत्रका तीन प्रमुख संस्थाले मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा भइरहेको बजार अनुगमनको शैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै सुधारको माग गरेका छन्।

होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, बर्दिबास उद्योग वाणिज्य सङ्घ र महोत्तरी चेम्बर अफ कमर्सले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर संयुक्त प्रेस विज्ञप्ति जारी गरेको हो।

नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको  प्रमुख आतिथ्यतामा जारी गरीएको प्रेस विज्ञप्तिमा अनुगमनका क्रममा व्यवसायीलाई अपराधीसरह व्यवहार गरिएको, सार्वजनिक रूपमा बदनाम गरिएको तथा अनावश्यक धरपकड गरिएको आरोप लगाएका हुन्।

संयुक्त विज्ञप्तिमा व्यवसायीहरूले आफूहरू कानुनको पूर्ण पालना गर्दै व्यावसायिक अनुशासन र सेवा–सुविधाको गुणस्तर अभिवृद्धिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उद्योग तथा व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन राज्यका निकायसँग सहकार्य गर्न तयार रहेको पनि उनीहरूको भनाइ छ।

विज्ञप्तिमा पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रूपमा रहेका होटलहरूको नियमित, निष्पक्ष र पारदर्शी अनुगमन हुनुपर्नेमा आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरिएको छ। तर, अनुगमनका क्रममा देखिएका सामान्य कमजोरी वा त्रुटिलाई सुधार गर्ने अवसर दिनुको सट्टा अनावश्यक प्रचारप्रसार गरेर व्यवसायीलाई बदनाम गर्ने, त्रास सिर्जना गर्ने तथा समग्र पर्यटन क्षेत्रको छविमै नकारात्मक असर पर्ने गतिविधि भएको भन्दै त्यसप्रति आपत्ति जनाइएको छ।

व्यवसायीहरूले यस्ता गतिविधिले पर्यटन तथा होटल व्यवसायको प्रवर्द्धनभन्दा पनि यस क्षेत्रमा लगानी गर्ने वातावरण कमजोर बनाउने दाबी गरेका छन्। उनीहरूले मधेश प्रदेश सरकारसँग व्यवसायीमैत्री वातावरण निर्माण गर्न, स्पष्ट मापदण्ड तयार गरी कानुनसम्मत, मर्यादित र रचनात्मक ढंगले अनुगमन सञ्चालन गर्न माग गरेका छन्।

त्यस्तै, अनुगमनको नाममा व्यावसायिक मर्यादामा आँच पुग्ने कार्य नगर्न तथा गृहमन्त्रीको पदको दुरुपयोग गरी व्यवसायीलाई हतोत्साहित गर्ने किसिमका गतिविधि र प्रचारप्रसार रोक्न पनि सरकारसँग आग्रह गरिएको छ।

संयुक्त विज्ञप्तिमा व्यवसायीमाथि निरन्तर अनावश्यक धरपकड, त्रास सिर्जना गर्ने तथा व्यावसायिक प्रतिष्ठामा आघात पुग्ने कार्य नरोकिए सम्पूर्ण व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ।

संयुक्त विज्ञप्ति होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की, बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कार्की तथा महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधिर अग्रवालले संयुक्तरुपमा  हस्ताक्षर गरेर निकालेका हुन् ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...