आज्ञा खबर
जनकपुरधाम
धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार बुधबार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष खोजी अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये लागूऔषध, चोरी, मोटरसाइकल चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, लुटपाट, कुटपिट, बेइज्जती तथा सवारी अंगभंगजस्ता विभिन्न प्रकृतिका मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिहरू छन्।
पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत धनुषामा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
अदालतले उनीहरूलाई विभिन्न मुद्दाअनुसार ६ दिनदेखि ४ वर्षसम्म कैद सजाय तथा ५०० रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो। फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीको खोजी तथा पक्राउलाई निरन्तर प्राथमिकतामा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीले अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न आगामी दिनमा पनि फरार अभियुक्तविरुद्ध विशेष अभियानलाई निरन्तरता दिने जनाएको छ।
