विवाहको माग गर्दै टेलिकमको टावरमा चढेका युवकको सकुशल उद्धार

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही

सर्लाहीको मलंगवामा नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई परिवार र प्रहरीको सक्रिय पहलपछि सकुशल तल झारिएको छ।

जिल्लाको गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन आइतबार बिहान टावरमा चढेका थिए। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले परिवारका सदस्यसँग मिलेर युवकलाई लामो समयसम्म सम्झाइबुझाइ गरेको थियो।

प्रहरीसँगको संवादपछि उनका आमाबुवा घटनास्थलमा पुगेका थिए। परिवारको आग्रह र आश्वासनपछि हुसैन आफै सुरक्षित रूपमा टावरबाट तल ओर्लिएका हुन्।

उद्धारपछि उनलाई स्वास्थ्य अवस्थाको परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। स्वास्थ्य परीक्षणपछि उनको अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हुसैन स्थानीय एक युवतीसँग विवाह गराइदिनुपर्ने माग राख्दै टावरमा चढेका थिए। उनी सर्लाही क्याम्पस मलंगवामा स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...