आज्ञा खबर
सर्लाही
सर्लाहीको बलरा नगरपालिका–१ हथियौलमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक भारतीय किसानको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको बिहार राज्य, सितामढी जिल्लाको श्रीनगर निवासी ५० वर्षीय अरविन्दकुमार सिंह रहेका छन्। उनी हथियौल निवासी सुरेन्द्रप्रसाद सिंहको बटैयामा लिएको खेतमा पानी लगाउन मङ्गलबार राति नेपाल आएका थिए।
प्रहरीका अनुसार खेतमा सिँचाइ गरिरहेका बेला विद्युत् करेन्ट लाग्दा सिंहको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि उनका परिवारले शव घर लगेका थिए। त्यसपछि मात्र बुधबार बिहान स्थानीय प्रहरीले घटनाबारे जानकारी पाएको थियो।
जानकारी प्राप्त भएपछि प्रहरी चौकी छन्कीटोला र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको टोलीले मृतकको शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले बताए। ।
