नारायण घिमिरे
बर्दिबास
जनता साहित्यिक मञ्च, गौरीडाँडा बर्दिबास महोत्तरीको आयोजनामा २१३औँ भानुजयन्तीको अवसरमा विशेष साहित्य शृङ्खला सम्पन्न भएको छ। मञ्चको माथिल्लो सदनद्वारा आयोजित कार्यक्रम मञ्चका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।
मञ्चकी उपाध्यक्ष शुभेच्छा घिमिरेले सञ्चालन गरेको कार्यक्रममा सचिव श्रेया कर्णले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रममा विज्ञान संकाय संयोजक रुपेश यादवले विद्यार्थीहरूमा साहित्यप्रति रुचि अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। साहित्यिक सिर्जनामार्फत व्यक्तित्व विकाससँगै असल नागरिक बन्न प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे।
विशिष्ट अतिथि तथा जनता माध्यमिक विद्यालय गौरीडाँडाकी सहायक प्रधानाध्यापक सरिता कार्कीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रम सान्दर्भिक रहेको बताउँदै उहाँको जीवन र कृतित्वबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने धारणा राखिन्। प्रत्येक सफलताको सुरुआत सानो प्रयासबाट हुने भएकाले निरन्तर सिर्जनशील रहन उनले विद्यार्थीहरूलाई आग्रह गरिन्।
अतिथि शिक्षक रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै उहाँले देखाएको मार्ग अनुसरण गर्न सके असल नागरिक बन्न सकिने बताए।
कार्यक्रममा भानुभक्त आचार्यप्रति समर्पित तथा समसामयिक विषयवस्तु समेटिएका कविता, मुक्तक र चुट्किलाको वाचन गरिएको थियो। मुस्कान सिंह कुशवाहा, निकी कुमारी महतो, होमबहादुर कार्की, प्रतिज्ञा वराल, रामनाथ महतो, प्रविण साह, रेखा सिंह, विपुल विद्रोही, शुभेच्छा घिमिरे, श्रेया कर्ण, सरिता कार्की, कृष्णप्रसाद पौडेल, लेखनाथ श्रेष्ठलगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष कृष्णप्रसाद पौडेलले भानुजयन्ती विशेष २९औँ साहित्य शृङ्खलालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीप्रति धन्यवाद ज्ञापन गरे। आगामी दिनमा पनि यस्ता साहित्यिक गतिविधिमा सबैको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्दै उनले कार्यक्रम समापन गरेका थिए।
