आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले अपराध नियन्त्रण र अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन प्रहरी र स्थानीय समुदायबीचको सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताएका छन्।
शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा कार्यक्रममा बोल्दै मन्त्री महतोले शान्ति सुरक्षा कायम राख्न समुदायको सहभागिता महत्वपूर्ण हुने उल्लेख गरे। उनले प्रहरी–समुदाय साझेदारी कार्यक्रमलाई व्यवहारिक र उपलब्धिमूलक बनाउँदै लैजान आवश्यक रहेको धारणा व्यक्त गरे।
संविधानले प्रदेश सरकारलाई शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम गर्ने जिम्मेवारी प्रदान गरेको स्मरण गराउँदै उनले सुरक्षा निकायलाई आवश्यक स्रोत, साधन र सहयोग उपलब्ध गराउन प्रदेश सरकार तत्पर रहेको बताए।
मन्त्री महतोले पर्याप्त जनशक्ति अभाव, अनुसन्धान क्षेत्रमा दक्ष जनबलको कमी तथा आधुनिक फोरेन्सिक संरचनाको अभावले सुरक्षा व्यवस्थापनमा चुनौती सिर्जना गरिरहेको पनि बताए।
कार्यक्रममा नेपाल प्रहरी अनुसन्धान विभागका प्रमुख सुनिल सिंह राठौर ले प्रविधिको तीव्र विकाससँगै अपराधको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गरे। उनले डीपफेक, भ्रामक सूचना, सामाजिक सञ्जालमार्फत फैलाइने घृणायुक्त सामग्री तथा साइबर अपराधका कारण अनुसन्धान प्रक्रिया थप जटिल बन्दै गएको बताए। साथै आर्थिक तथा वित्तीय अपराधका नयाँ प्रवृत्तिहरू पनि चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ थियो।
समीक्षा गोष्ठीमा गोविन्द थपलिया, टेकनारायण कुँवर तथा प्रेमप्रसाद लुइँटेल लगायतले अपराध अनुसन्धानलाई समयसापेक्ष, वैज्ञानिक र प्रभावकारी बनाउन अन्तरनिकाय समन्वय तथा संस्थागत क्षमता अभिवृद्धिको आवश्यकता औँल्याएका थिए।
