हरियाणास्थित पोल्ट्री फर्मबाट बर्दिवासका १६ मुसहर नागरिकको उद्धार

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

महोत्तरीको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका १६ जना महिला, पुरुष तथा बालबालिकालाई भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री (कुखुरा) फर्मबाट उद्धार गरिएको छ।

बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री, वडा नं. १४ का अध्यक्ष विजय कुमार महतो, जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला प्रहरी कार्यालय महोत्तरी, आफन्त नेपाल,आफन्त नेपाल को साझेदार संस्था आफन्त ईन्डिया फाउन्डेशनको संयुक्त पहलमा उनीहरूको उद्धार गरिएको हो।

करिब अढाई महिनाअघि आकर्षक रोजगारीको प्रलोभनमा भारतको हरियाणा राज्यको झझर (Jhajjar) जिल्लास्थित पोल्ट्री फर्ममा काम गर्न गएका ९ वर्षदेखि ४७ वर्ष उमेर समूहका १६ जनाले २ महिना ७ दिन कामगरेका थिए। कामगर्ने सिलसिलामा मुसहर समुदायका उनिहरुलाई श्रम शोषण, मानसिक तथा शारीरिक यातना खेप्दै बन्धक अवस्थामा राखिएको सूचना प्राप्त भएपछि आफन्त ईन्डिया फाउन्डेशनका निर्देशक बिनोद कुमार खाती  उद्धार अधिकृत मान बहादुर श्रेष्ठ लागायतको टिमको प्रयासमा उद्धार प्रक्रिया अघि बढाइएको थियो।

उद्धार गरिएका सबै नागरिक बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका मुसहर समुदायका बासिन्दा हुन्। भारतीय प्रहरी, भारतीय दूतावास, नेपालस्थित भारतीय दूतावास, नेपाल प्रहरी तथा आफन्त नेपालको साझेदार संस्था आफन्त ईन्डिया फाउन्डेशनको समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी महोत्तरी स्थित नेपाल भारत सिमा भिठामोर ल्याइएको थियो।

उद्धार गरिएकामध्ये ३८ वर्षीय विष्णुदेव सदा, उनकी श्रीमती ३५ वर्षीया महावती सदा, १० वर्षीय छोरा अमृत सदा, ४० वर्षीय मोहन सदा, उनकी श्रीमती २५ वर्षीय बेची सदा, १७ वर्षीय मुकेश सदा र २० वर्षीय किरण सदा लगायत रहेका छन्।

उद्धारपछि उनीहरूलाई महोत्तरी स्थित नेपाल भारत सिमा भिठामोरबाट बर्दिवास–१४ स्थित आफ्नै बस्तीमा सुरक्षित रूपमा ल्याउन बर्दिवास नगरपालिकाले सवारी साधनको व्यवस्था गरेको थियो। उद्धार गरिएका नागरिकहरू शारीरिक तथा मानसिक रूपमा थकित र संवेदनशील अवस्थामा रहेकाले स्थानीय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भन्दै नगर प्रमुख क्षेत्रीले वडा अध्यक्ष महतोलाई आवश्यक समन्वय र सहयोगका लागि निर्देशन दिएका थिए।

आफन्त ईन्डिया फाउन्डेशनको उद्धार अधिकृत मानबहादुर श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सूचना प्राप्त भएपछि उद्धार टोलीले उनीहरूको स्थिती पहिचान गर्ने काम सुरु गरेको थियो। “हामीले उनीहरू रहेको स्थान पत्ता लगाएपछि भारतीय सरकारी निकायहरूसँग पत्राचार गर्यौं। त्यसपछि भारतीय प्रहरीको सहयोगमा उद्धार सम्भव भयो,” श्रेष्ठले बताए।

उद्धार गरिएका नागरिकहरूलाई लिन वडा अध्यक्ष विजय कुमार महतोसहित पिडित परिवारका सदस्यहरू नगरपालिकाले रिजर्भ गरेको बस चढेर नेपाल–भारत सीमा क्षेत्र भिठामोड पुगेका थिए। वडाअध्यक्ष महतोका अनुसार पुरुषलाई मासिक १२ हजार भारतीय रुपैयाँ र महिलालाई ९ हजार भारतीय रुपैयाँ तलब,खान, बस्न निशुल्क दिने प्रलोभनमा उनीहरूलाई हरियाणा लगिएको थियो। तर त्यहाँ पुगेपछि उनीहरू श्रम शोषण, मानसिक तथा शारीरिक यातना सहन बाध्य भएका थिए।

महतोले वैदेशिक रोजगारी तथा श्रमका लागि भारत जाने क्रममा दलाल र झुटा प्रलोभनबाट सचेत रहन स्थानीयवासीलाई आग्रह गरेका छन्। यस्ता घटनाको पुनरावृत्ति रोक्न स्थानीय तह, प्रशासन र सरोकारवाला निकायबीच थप समन्वय आवश्यक रहेको उनको भनाइ छ।

यसैगरी महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादवले बर्दिवास–१४ का मुसहर समुदायका नागरिकहरू हरियाणास्थित पोल्ट्री फर्ममा बन्धक बनाइएको सूचना प्राप्त भएपछि उद्धार प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनले इलाका प्रहरी कार्यालय बर्दिवास मार्फत पिडित परीवारको संयुक्त निवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरी, नेपाल प्रहरी, भारतीय कन्सुलेट जनरलको कार्यालय तथा नेपालस्थित भारतीय दूतावाससँग समन्वय गरिएको थियो,” महोत्तरीका प्रमुख जिल्ला अधिकारी यादवले भने,“भारतीय दूतावास भारतीय प्रहरी,आफन्त नेपाल,आफन्त नेपालको साझेदार संस्था आफन्त ईन्डिया फाउन्डेशन र आफन्त नेपालको महेत्तरी जिल्ला शाखासँग समन्वय गरेर उद्धार कार्य सम्पन्न गरेको हो।”

स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा सामाजिक संस्थाहरूको प्रयासबाट गरिएको उद्धार कार्यलाई मानव बेचबिखन तथा श्रम शोषणविरुद्धको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ। साथै, रोजगारीको नाममा हुने ठगी तथा शोषणबाट जोगिन सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता पनि यस घटनाले औंल्याएको छ।

 

 

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...