निर्वाचनमा असहयोगको आरोप लागेका मधेसका तीन सांसदलाई कांग्रेसको चेतावनी

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले मधेस प्रदेशका तीन प्रदेशसभा सदस्यलाई भविष्यमा पार्टी विधान र अनुशासनअनुसार जिम्मेवारी निर्वाह गर्न सचेत गराएको छ।

बिहीबार बसेको समितिको बैठकले सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गतका प्रदेशसभा सदस्य सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई पार्टीप्रति थप जिम्मेवार बन्न निर्देशन दिएको हो। उनीहरूमाथि निर्वाचनका बेला पार्टीका आधिकारिक उम्मेदवारलाई अपेक्षित सहयोग नगरेको आरोप लागेको थियो।

उक्त आरोपबारे स्पष्टीकरण मागिएपछि तीनै जनाले आरोप अस्वीकार गर्दै आफ्नो लिखित जवाफ समितिमा बुझाएका थिए। समितिले उनीहरूको स्पष्टीकरणलाई सन्तोषजनक ठहर गरे पनि आगामी दिनमा यस्ता किसिमका गुनासा दोहोरिन नदिन पार्टीको विधान, नियम र अनुशासनप्रति प्रतिबद्ध रहन सुझावसहित सचेत गराएको जनाएको छ।

यता, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत भने अनुशासन उल्लङ्घनसम्बन्धी आरोपबाट मुक्त भएका छन्। समितिले उनको स्पष्टीकरण तथा सम्बन्धित कागजातहरूको अध्ययनपछि थप कारबाही आवश्यक नदेखिएको निष्कर्ष निकाल्दै सफाइ दिने निर्णय गरेको हो।

यसैबीच, पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तरघात गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवमाथि भने कारबाही गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन समितिको बैठकले उनलाई जिल्ला सभापतिको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले पार्टी अनुशासनलाई थप प्रभावकारी बनाउने तथा निर्वाचनका क्रममा देखिएका गतिविधिबारे आवश्यक निर्णयहरू गरेको कांग्रेसले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...