- आज्ञा खबर
बर्दिवास
वर्षात् सुरु हुन अझ केही दिन बाँकी छ। तर महोत्तरीको बर्दिवास नगरपालिका–८ स्थित हातिलेट–क्वाटरका बासिन्दाको मनमा भने वर्षौंदेखिको एउटै चिन्ता फेरि दोहोरिन थालेको छ—बाढी र डुबान। आकाशमा बादल मडारिन थालेसँगै उनीहरूको निद्रा हराउँछ, किनकि पानी परेपछि घरभित्रै बाढी पस्ने पीडा उनीहरूका लागि नयाँ होइन।
बिहीबार बिहान भने यो बस्तीमा फरक दृश्य देखियो। चारबर्ष भन्दा अघि आफ्ना समस्या बोकेर नगरपालिका धाउनुपर्ने बाध्यता झेल्दै आएका स्थानीयका बीचमा नगर प्रमुख प्रह्लादकुमार क्षेत्री स्वयं पुगे। नागरिकका घरआँगनमै पुगेर समस्या सुन्ने र समाभानको बाटो खोज्ने उनको शैलीले स्थानीयलाई आफ्ना गुनासा प्रत्यक्ष रूपमा सम्बन्धित निकायसम्म पुर्याउने अवसर दिएको थियो।
स्थानीयवासीका अनुसार बर्दिवास–जलेश्वर सडकखण्ड निर्माण तथा कालोपत्रेपछि सडकको सतह बस्तीभन्दा अग्लो बनेको छ। अर्कोतर्फ उत्तर दिशामा रहेको सागरनाथ वन विकास परियोजना क्षेत्रको भू–संरचना पनि बस्तीभन्दा उचो छ। फलस्वरूप वर्षाको पानी प्राकृतिक रूपमा बग्न नसकी सिधै गाउँबस्तीभित्र पस्ने गरेको छ।
“पानी परेपछि घरभित्रै खोलो बग्छ,” एक स्थानीयले गुनासो गर्दै भने, “हरेक वर्ष यही समस्या दोहोरिन्छ तर स्थायी समाधान हुन सकेको छैन।”
मिश्रित समुदायका करिब २० घरधुरी बसोबास गर्ने यस क्षेत्रमा वर्षेनी डुबानका कारण जनजीवन प्रभावित हुँदै आएको छ। घरभित्र पानी पस्ने, खाद्यान्न तथा लत्ताकपडा नष्ट हुने, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुने जस्ता समस्या यहाँका बासिन्दाका लागि सामान्यजस्तै बनेका छन्।
तर बाढी मात्रै होइन, यहाँका नागरिकको अर्को ठूलो चिन्ता ऐलानी तथा अव्यवस्थित बसोबास पनि हो। वर्षौंदेखि बसोबास गर्दै आएका केही परिवार अझै पनि आफ्नो आवासको कानुनी सुनिश्चितताबाट वञ्चित छन्। कतिबेला घरटहरा हटाइने हो भन्ने डरले उनीहरू मानसिक तनावमा बाँचिरहेका छन्।
स्थानीयले यी सबै समस्या नगर प्रमुख क्षेत्रीसमक्ष खुलस्त रूपमा राखे। उनीहरूले बाढी–डुबान नियन्त्रण, प्रभावकारी जलनिकास, सुरक्षित बसोबास तथा ऐलानी जग्गाको व्यवस्थापनका लागि ठोस पहल गर्न माग गरे।
नागरिकका गुनासा ध्यानपूर्वक सुनेपछि नगर प्रमुख क्षेत्रीले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले समस्या सुन्नु मात्र होइन, समाधान गर्नु पनि आफ्नो दायित्व भएको बताए।
“म नगर प्रमुख भएर कार्यालयमा मात्रै बस्ने पक्षमा छैन,” उनले भने, “जनताका समस्या कागजमा पढेर मात्र बुझिँदैनन्। समस्या जहाँ छ, समाधानको प्रयास पनि त्यहीँबाट सुरु हुनुपर्छ। त्यसैले म नागरिकको बीचमा आएको हुँ।”
उनले हातिलेट–क्वाटर क्षेत्रको डुबान समस्या अब सामान्य प्रशासनिक विषय नभई नागरिकको जीवनसँग जोडिएको संवेदनशील विषय बनेको उल्लेख गरे।
“वर्षौंदेखि एउटै समस्या दोहोरिनु दुःखद कुरा हो,” उनले भने, तपाईँहरू यतिका दिनसम्म म कहाँ आउनुभएको थिएन मैले समस्या सुनेपछि आफू स्वयं यहाँ आइपुगेको छु।“अब यसको दीर्घकालीन समाधान खोज्न प्राविधिक अध्ययनसहित आवश्यक योजना अघि बढाइनेछ। वर्षाको पानीलाई व्यवस्थित निकास दिने, जोखिम न्यूनीकरण गर्ने र नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउनेतर्फ नगरपालिका गम्भीर छ।”
नगर प्रमुख क्षेत्रीले विकास भनेको सडक र भवन निर्माण मात्र नभई नागरिकलाई सुरक्षित र सम्मानित जीवन दिनु पनि भएको बताए।
“कुनै नागरिक बाढीको त्रासमा बस्न बाध्य हुनु हुँदैन,” उनले भने, “नागरिकको सुरक्षा र सहज जीवन हाम्रो पहिलो प्राथमिकता हो। स्थानीय सरकार नागरिकको दुःखमा साथ दिनकै लागि बनेको हो।”
ऐलानी तथा अव्यवस्थित बसोबासका विषयमा बोल्दै उनले नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइने बताए। त्यसका लागि सम्बन्धित निकायसँग समन्वय गरी नागरिकलाई राहत पुग्ने उपाय खोजिने उनको प्रतिबद्धता थियो।
“वर्षौंदेखि बसोबास गरिरहेका नागरिकलाई असुरक्षित महसुस हुन दिनु हुँदैन,” उनले भने, “कानुनी प्रक्रिया र स्थानीय सरकारको भूमिकाभित्र रहेर नागरिकलाई अधिकतम सहजीकरण गर्ने प्रयास हुनेछ।”
नगर प्रमुखको प्रत्यक्ष उपस्थितिले स्थानीयमा आशाको सञ्चार भएको छ। उनीहरूका अनुसार वर्षौंदेखि झेल्दै आएका समस्या पहिलोपटक सम्बन्धित निकायका प्रमुखले बस्तीमै आएर सुन्नु सकारात्मक कदम हो।
स्थानीयवासीले नगर प्रमुखको अहिलेको कार्यकाल विकासमुखी भएकाले कार्यान्वयन हेर्न चाहेको बताएका छन्। उनीहरूको अपेक्षा छ—यस वर्षको मनसुनसँगै विगतका वर्षझैँ बाढीको पीडा दोहोरिन नपरोस्।
वर्षायाम नजिकिँदै जाँदा हातिलेट–क्वाटरका बासिन्दाको माग स्पष्ट छ—सुरक्षित बासस्थान, प्रभावकारी जलनिकास र व्यवस्थित बसोबास। नगर प्रमुखको प्रतिबद्धता व्यवहारमा देखिन केन्द्रित भएकाले बस्तीका नागरिकले वर्षौंदेखिको पीडाबाट मुक्ति पाउने विश्वास उनीहरूले गरेका छन्।
स्थानीय सरकार र नागरिकबीचको सम्बन्ध विश्वासमा टिकेको हुन्छ। बिहीबार हातिलेट–क्वाटरमा देखिएको दृश्यले यही सन्देश दिएको छ—समस्या सुन्ने नेतृत्व र समाधानको अपेक्षामा रहेका नागरिकबीचको सम्बन्ध नजिक हुँदै गएको छ।






