अत्यधिक गर्मीका कारण बर्दिवासका सबै विद्यालय दुई दिन बन्द

[sharethis-inline-buttons]

निकेश खनाल
बसर्दवास

बर्दिवास नगरपालिकाले अत्यधिक गर्मी र तातो हावा (लू) को प्रभाव बढ्दै गएपछि नगरभित्र सञ्चालित सबै विद्यालयमा दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले बुधबार सूचना जारी गर्दै विगत केही दिनदेखि निरन्तर बढिरहेको तापक्रमका कारण जनजीवन प्रभावित हुनुका साथै विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम बढेकाले मिति २०८३ जेठ २१ गतेदेखि २२ गतेसम्म सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयहरूको पठनपाठन पूर्ण रूपमा बन्द रहने जनाएको हो।

नगरपालिकाको मिति २०८३ जेठ २० गतेको निर्णयअनुसार उक्त बिदा दिइएको जनाइएको छ। बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीद्वारा जारी सूचनामा विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा र हितलाई मध्यनजर गर्दै यो निर्णय गरिएको उल्लेख छ।

नगरपालिकाले अभिभावकहरूलाई पनि गर्मीको समयमा बालबालिकालाई अनावश्यक रूपमा घरबाहिर हिँडडुल गर्न नदिई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

बढ्दो गर्मी र लूका कारण तराई–मधेसका जिल्लाहरुमा जनजीवन प्रभावित बन्दै गएको छ भने स्वास्थ्यकर्मीहरूले पनि पर्याप्त पानी पिउन, घाममा लामो समयसम्म नबस्न तथा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...