महोत्तरीमा विविध कार्यक्रमसहित गणतन्त्र दिवस मनाइयो

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

महोत्तरीको सदरमुकाम जलेश्वरमा विविध कार्यक्रम आयोजना गर्दै गणतन्त्र दिवस उत्साहपूर्वक मनाइएको छ। गणतन्त्र दिवसका अवसरमा शुक्रबार बिहान जलेश्वरस्थित दुर्गा चौकबाट जिरोमाइलमा रहेको शहीद पार्कसम्म प्रभातफेरी निकालिएको थियो।

जिल्लास्तरीय गणतन्त्र दिवस समारोह समितिको आयोजनामा सम्पन्न प्रभातफेरीमा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, सरकारी कार्यालय, राजनीतिक दल, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्ण, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित विभिन्न निकायका प्रतिनिधिहरू सहभागी भएका थिए।

नेपाली सेनाको सांस्कृतिक ब्यान्डको अगुवाइमा निकालिएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गर्दै शहीद पार्क पुगेको थियो। पार्कमा पुगेपछि सहभागीहरूले शहीदहरूको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

त्यसक्रममा मधेश आन्दोलनलगायत विभिन्न लोकतान्त्रिक आन्दोलनमा ज्यान गुमाएका ज्ञात तथा अज्ञात शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा वक्ताहरूले गणतन्त्र स्थापना तथा लोकतान्त्रिक आन्दोलनमा शहीदहरूले पुर्‍याएको योगदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र नागरिक अधिकारको संरक्षणका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्णले शहीदहरूको बलिदानकै कारण मुलुक गणतान्त्रिक व्यवस्थामा पुगेको उल्लेख गर्दै उनीहरूको योगदानलाई सधैं सम्मानपूर्वक स्मरण गर्नुपर्ने बताउनुभयो।

दिवसको अवसरमा जलेश्वर अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको आयोजक समितिले जनाएको छ। जलेश्वर नगरपालिकाको समन्वयमा गरिएको उक्त कार्यक्रममा बिरामीहरूको स्वास्थ्यलाभको कामना गरिएको थियो। साथै गणतन्त्र दिवसको अवसरमा शुक्रबार साँझ दीप प्रज्वलन कार्यक्रम पनि आयोजना गरिएको जनाइएको छ।

जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा गठित गणतन्त्र दिवस समारोह समितिले जेठ १४ र १५ गते दुईदिने कार्यक्रम सञ्चालन गरेको थियो।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...