आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दीबास नगरपालिका–३ कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने विषयलाई लिएर उत्पन्न विवाद सोमबार साँझ तनावपूर्ण बनेपछि केही समयका लागि बीपी राजमार्ग अवरुद्ध भएका छन्। स्थानीय बासिन्दा र वन कार्यालयबीचको असमझदारीले उग्र रूप लिएपछि यात्रु तथा सवारी साधन लामो समय अलपत्र परेका थिए।
डिभिजन वन कार्यालय महोत्तरीको कर्मचारी टोली कालापानी क्षेत्रमा पुगेर वन क्षेत्रभित्र बनेका संरचना तथा बसोबासको अवस्थाबारे जानकारी संकलन गर्न थालेपछि स्थानीयवासी आक्रोशित बनेका थिए। स्थानीयको आरोपअनुसार कर्मचारीहरूले घर–घर पुगेर जग्गाको पूर्जा माग्दै स्थान खाली गर्न दबाब दिएको भन्दै विरोध चर्किएको हो।
विवाद चर्किएसँगै सब–डिभिजन वन कार्यालय गढन्ताकी वन अधिकृत श्वेता झाको नेतृत्वमा पुगेको सात सदस्यीय टोली केही समय स्थानीयको घेराउमा परेको थियो। त्यसपछि आक्रोशित स्थानीयले कालापानीस्थित पानस होटल आसपास बीपी राजमार्ग अवरुद्ध गरेपछि तराई–काठमाडौं आवतजावत गर्ने सवारी साधन रोकिएका थिए। प्रतिकूल मौसमका बीच यात्रुहरूले सडकमै कठिन रात बिताउनुपरेको स्थानीयको भनाइ छ।
इलाका प्रहरी कार्यालय बर्दीबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिम्सिनाका अनुसार वन कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएपछि अवस्था थप बिग्रन नदिन प्रहरी परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम सारुमगरले खराब मौसमका कारण उद्धार तथा समन्वय कार्य जटिल बनेको बताए। पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वन कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो।
घटनाकै क्रममा डिभिजन वन कार्यालयको एउटा सरकारी गाडीमा आगजनी गरिएको वन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख अजयकुमार मिश्रका अनुसार सोमबार मध्यराततिर कार्यालयको गाडीमा आगो लगाइएको हो।
घटनापछि डिभिजन वन कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै कर्मचारीहरू नियमित अनुगमन र सूचना आदानप्रदानका लागि क्षेत्रमा गएको स्पष्ट पारेको छ। कार्यालयले तत्काल बस्ती हटाउने कुनै कार्यक्रम नरहेको र सुरक्षा निकायलाई त्यससम्बन्धी कुनै निर्देशन वा आग्रह नगरिएको जनाएको छ।
स्थानीयवासीले भने आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको स्थानमा वैकल्पिक व्यवस्थाबिनै हटाउने संकेत दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान नगरी जबर्जस्ती हटाउन खोजिएको आरोप उनीहरूको छ।
तनावपछि मंगलबार जिल्ला प्रशासन कार्यालय महोत्तरीको पहलमा बर्दीबासमा छलफल आयोजना गरिएको थियो। नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको समन्वयमा वन कार्यालय, संघर्षरत पक्ष र सरोकारवालाबीच वार्ता भएको हो।
वार्तामा डिभिजन वन कार्यालय प्रमुख मिश्रले कर्मचारीको व्यवहारबाट स्थानीयमा त्रास उत्पन्न भएको स्वीकार गर्दै आफूबाट त्यस्तो निर्देशन नदिइएको बताएका थिए। उनले घटनाले सिर्जना गरेको असहज अवस्थाप्रति दुःख व्यक्त गर्दै स्थानीयसँग क्षमा मागेको सहभागीहरूले बताएका छन्।
छलफलपछि तत्काल बस्ती हटाउने निर्णय नगरिने, भूमिहीन र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि स्थानीय सरकारसँग सहकार्य गर्ने तथा स्थानीयको माग संघीय सरकारसम्म पुर्याउने सहमति भएको जनाइएको छ। बर्दीबास नगरपालिकाले सञ्चालन गरिरहेको घर–जग्गा संकलन तथा प्रमाणीकरण प्रक्रियालाई आधार मानेर आगामी कदम अघि बढाउने समझदारीसमेत भएको छ।
यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने र तत्कालका लागि आन्दोलन स्थगित गर्ने सहमति भएपछि मंगलबार दिउँसोदेखि अवरुद्ध सडक बेलुका ४बजेतिर पुनः सञ्चालनमा आएको छ।






