भूमिहीन ऐलानी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

महोत्तरीको बर्दिवास नगरपालिका क्षेत्रभित्रका भूमिहीन ऐलानी तथा अव्यवस्थित बसोवासीहरुले आफ्नो भूमि सम्बन्धी समस्या समाधानको माग गर्दै मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको नेतृत्वमा आइतबार पिडित नागरिक सहितको एक प्रतिनिधिमण्डलले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव लाई उनकै निवासमा पुगेर ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमार्फत बर्दिवास नगरपालिका क्षेत्रभित्र लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन ऐलानी तथा अव्यवस्थित बसोवासीको जग्गा व्यवस्थापन, लालपुर्जा वितरण तथा स्थायी बसोबासको सुनिश्चितताका लागि प्रदेश सरकारको विशेष पहलकदमी आवश्यक रहेको उल्लेख गरिएको छ। स्थानीयवासीले वर्षौंदेखि बसोबास गर्दै आए पनि कानुनी स्वामित्व नहुँदा विभिन्न समस्या भोग्नुपरेको भन्दै त्यसको शीघ्र समाधान गर्न माग गरिएको जनाइएको छ।

यस क्रममा नगरप्रमुख क्षेत्रीले भूमिहीन तथा अव्यवस्थित बसोवासीको समस्या बर्दिवास क्षेत्रमा पुस्तौंदेखि कायम रहँदै आएको र यो सामाजिक न्यायसँग प्रत्यक्ष जोडिएको विषय भएको बताएका छन्। उनले यसको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरेर नागरिकको समस्या यथा शिघ्र समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको धारणा राखेको बुझिएको छ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले नागरिकका जायज मागप्रति प्रदेश सरकार संवेदनशील रहेको उल्लेख गर्दै सम्बन्धित विषयमा आवश्यक अध्ययन, समन्वय तथा पहल गरिने विश्वास दिलाएको जनाइएको छ।

बर्दिवास नगरपालिका क्षेत्रभित्र रहेका भूमिहीन ऐलानी तथा अव्यवस्थित बसोवासीले लामो समयदेखि जग्गाको स्वामित्व, बसोबासको वैधानिकता तथा आधारभूत सेवासुविधामा सहज पहुँच सुनिश्चित गर्न माग गर्दै आएका छन्।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा बर्दिवास नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बिराट कुमार बिष्ट, वडा नं. १४ का वडाध्यक्ष विजय कुमार महतो, सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादव, स्थानीय पीडित पक्ष, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...