आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास क्षेत्रमा शान्ति, सुरक्षा, व्यवसायिक वातावरण तथा नागरिक–प्रहरी सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले इलाका प्रहरी कार्यालय बर्दिवासका नवआगन्तुक प्रहरी नायब उपरीक्षक (डीएसपी) गुरु प्रसाद तिम्सिनाको आइतबार स्वागत तथा सम्मान गरिएको छ।
महोत्तरी चेम्बर अफ कमर्सको आयोजनामा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रममा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले बर्दिवाससहित मधेश प्रदेशमा पछिल्लो समय मौलाउँदै गएको लागुऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रहरी, स्थानीय सरकार, अभिभावक, व्यवसायी तथा नागरिकबीच सहकार्य अपरिहार्य रहेको बताए।
“लागुऔषध दुर्व्यसनले युवा पुस्तालाई नकारात्मक दिशातर्फ धकेलिरहेको छ, यसको नियन्त्रणमा सबैले साझा जिम्मेवारीबोध गर्न आवश्यक छ,” नगर प्रमुख क्षेत्रीले भने। उनले सुरक्षित र व्यवस्थित बर्दिवास निर्माणका लागि स्थानीय सरकार सधैं प्रहरी प्रशासनसँग सहकार्य गर्न तयार रहेको पनि बताए।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधिर अग्रवाल ले व्यवसायीहरूको सुरक्षालाई प्राथमिकतामा राखी बजार क्षेत्रमा शान्ति, सुरक्षा र व्यवसायमैत्री वातावरण कायम गर्न प्रहरी प्रशासनसँग समन्वय र सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने बताए। उनले व्यवसायीहरू ढुक्क भएर व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण सिर्जना गर्न प्रहरी प्रशासनको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे।
नवआगन्तुक डीएसपी गुरु प्रसाद तिम्सिनाले बर्दिवास क्षेत्रको शान्ति सुरक्षा सुदृढ गर्न नागरिक र प्रहरीबीच विश्वासको सम्बन्ध अझ मजबुत बनाउँदै समुदाय–प्रहरी साझेदारीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले अपराध नियन्त्रण, लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा व्यवसायिक सुरक्षा सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए।
कार्यक्रममा नवआगन्तुक डीएसपी तिम्सिनालाई मायाको चिनो प्रदान गरेर सम्मान गर्नुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। साथै कार्यक्रमका सहभागीहरूले बर्दिवास क्षेत्रमा सुरक्षित, शान्त र व्यवसायमैत्री वातावरण निर्माणका लागि प्रहरी र समुदायबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिएका थिए।






