आज्ञा खबर
बर्दिवास
महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सादेवाडमा मंगलवार एक महिलाको रहस्यमय मृत्यु भएपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ। मृतकका माइती पक्षले दाईजोको विषयलाई लिएर छोरीको हत्या गरिएको आरोप लगाएका छन् भने प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
मृतक २०८२ फागुन १४ गते विवाह बन्धनमा बाँधिएकी सर्लाहीको हरिपुर्वा नगरपालिका–७ बसन्तपुर निवासी रामज्ञान मण्डलकी छोरी रञ्जिता मण्डल हुन्। उनको विवाह महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सादेवाड निवासी विजय मण्डलका छोरा रमेश मण्डलसँग भएको थियो। विवाह भएको तीन महिना पनि नपुग्दै अर्थात् ८३ दिनभित्रै रञ्जिताको मृत्यु भएको हो।
परिवारका अनुसार मंगलबार साँझ रञ्जिताले पासो लगाएर आत्महत्याको प्रयास गरेको भन्दै मृतकका श्रीमान् रमेश मण्डलले उपचारका लागि उनलाई रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमिक अस्पताल पु¥याएका थिए। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बताइएको छ।
यद्यपि, घटनालाई लिएर मृतक पक्षले गम्भीर आशंका व्यक्त गरेको छ। रञ्जिताकी आमा कौशिल्या देवी मण्डलले आफ्नी छोरीको मृत्यु आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेकी छन्। उनका अनुसार केही दिनअघि मात्रै छोरीसँग फोनमा कुराकानी हुँदा ससुराली पक्षले माइतीबाट दाईजोस्वरूप भैंसी ल्याउन दबाब दिएको जानकारी दिएकी थिइन्।
“हामीले विवाहमा नगद १० लाख रुपैयाँसहित सुनचाँदी र अन्य सामान दिएका थियौं, तर फेरि भैंसी माग्न थालेपछि छोरीमाथि कुटपिट हुन थालेको थियो,” कौशिल्याले आरोप लगाउँदै भनिन्, “अन्ततः मेरी छोरीको हत्या गरियो।”
घटनापछि प्रहरीले रञ्जिताका श्रीमान् रमेश मण्डललाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हत्या हो वा आत्महत्या भन्ने विषय पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै स्पष्ट हुने बताईएको छ।
उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।






