आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेसको ‘ऊर्जा र विश्वासको नवीन अभियान’ अन्तर्गत मधेश प्रदेशका स्थानीय तह केन्द्रित आठवटै जिल्लाको परामर्श कार्यशाला आयोजना हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा बुधबार सञ्चालन हुने उक्त कार्यशालामा पार्टीका केन्द्रीय नेता, प्रदेशस्तरीय प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।
कार्यशालाको उद्घाटन नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा पार्टीका उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेलसहित मधेश प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहने बताइएको छ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना गरिएको उक्त परामर्श कार्यशालामा पार्टी संगठन सुदृढीकरण, स्थानीय तहमा राजनीतिक सक्रियता, जनविश्वास अभिवृद्धि तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
कार्यशालामार्फत पार्टीको सांगठनिक संरचना सशक्त बनाउने, कार्यकर्ताबीच समन्वय र प्रशिक्षणलाई प्रभावकारी बनाउने तथा स्थानीय तहमा पार्टीको भूमिकालाई थप सुदृढ गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।






