यात्रुबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर

सर्लाही

सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थित खिला गाउँ नजिक बाँके–संग्रामपुर सडकखण्डमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ। यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका महोत्तरीका एक युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार बिहान करिब साढे ८ बजे संग्रामपुरबाट बाँकेतर्फ गइरहेको ग.१ ख ९४६७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना.४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी ३६ वर्षीय श्याम ठाकुर गम्भीर घाइते भएका थिए।

टाउकोमा गम्भीर चोट लागेका ठाकुरलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। स्थानीय स्तरमा ‘पप्पु’ नामले चिनिने ठाकुर भोगेन्द्र ठाकुरका छोरा हुन्।

दुर्घटनापछि बस चालक फरार भएका छन्। प्रहरीले बस धनी पर्सा गाउँपालिका–२ संग्रामपुर निवासी २७ वर्षीय मनिष कुमार महतोलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न बस र मोटरसाइकललाई प्रहरी चौकी गौरीशंकरमा राखिएको तथा घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...