आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा सुधारिएको गोठ निर्माण कार्य सुरु गरिएको छ। ग्रामीण महिला किसानको जीविकोपार्जन सुधार तथा कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
बर्दिवास नगर पालिकाका नगर प्रमु ख प्रह्लाद कुमार क्षेत्रीको पहल र निरन्तर प्रयासमा संघीय सरकारको गाई–भैँसी पालन स्रोत केन्द्रअन्तर्गत रु ५ लाख ५० हजार बराबरको अनुदान सहयोगमा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रम अन्तर्गत सरस्वती महिला कृषक समूह मा आबद्ध २१ जना महिला किसानलाई प्रत्येकका लागि दुईवटा पशु बस्न सक्ने क्षमता भएको सुधारिएको गोठ निर्माण गरिनेछ।
बर्दिवास नगरपालिका पशु विकास शाखाका पशु अधिकृत मोहन खड्का का अनुसार कार्यक्रममा पशुको जीवन बीमा, औषधि उपचार, खोप तथा पशुपालन सम्बन्धी एकदिने तालिमको समेत व्यवस्था गरिएको छ।
सुधारीएको गोठ निर्माणकार्यको अनुगमनगर्दै नगर प्रमुख क्षेत्रीले महिला सशक्तीकरण, कृषि उत्पादकत्व वृद्धि तथा दिगो जीविकोपार्जन व्यवस्थापनमार्फत कृषकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताए।
उनले गोठ सुधार कार्यक्रममार्फत ग्रामीण बिपन्न महिला कृषकलाई आत्मनिर्भर बनाउँदै अर्गानिक कृषि उत्पादन प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। “खयरमारामा गोठ सुधारको माध्यमबाट कृषि उत्पादन वृद्धि गरी कृषकको जीवनस्तर सुधार गर्दै आत्मनिर्भरतर्फ उन्मुख गराउने हाम्रो लक्ष्य हो,” नगरप्रमुख क्षेत्रीले भने।
कार्यक्रमअन्तर्गत पक्की ढलानसहित गाई–भैँसीका लागि घाँस तथा पराल खाने स्थान, मुत्र संकलन प्रणाली लगायतका सुविधासहित दिगो गोठ निर्माण भइरहेको छ।
गोठ सुधार कार्यक्रमले कम्पोष्ट मल उत्पादनमा समेत टेवा पुग्ने तथा अर्गानिक खेती प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
गोठ सुधार अनुगमन कार्यक्रममा नगरपालिकाका उप प्रमुख तारादेबी महतो,प्रमुख प्रशाशकिय अधिकृत राममणि अधिकारी,पशु बिकास शाखा अधिकृत मोहन खड्का,कृषि बिकास शाखा अधिकृत साजन दहाल लगायतको उपस्थिती रहेको थियो।





































