आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा ईन्द्रकाली महिला कृषक समूह गठन गरिएको छ। विपन्न महिलालाई कृषि, पशुपालन तथा विभिन्न आयआर्जनका कार्यक्रममार्फत आत्मनिर्भर बनाउने उद्देश्यसहित समूह गठन गरिएको हो।
समूह गठन कार्यक्रम बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री को विशेष योजना, प्रयास र पहलमा सम्पन्न भएको ईन्द्रकाली महिला कृषक समूहकी अध्यक्ष नमिता कुमारी धानुकले जानकारी दिइन्। समूह गठन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री ले महिलालाई उत्पादन र उद्यमसँग जोडेर आर्थिक रूपमा सक्षम बनाउनु नगरपालिकाको अहिलेको प्रमुख लक्ष्य रहेको बताए। उनले कृषि र पशुपालनमार्फत ग्रामीण भेगका बिपन्न महिलाको आयस्तर वृद्धि गर्दै आत्मनिर्भर बनाउने अभियानलाई निरन्तरता दिइने उल्लेख गरे।

नगरप्रमुख क्षेत्रीले ग्रामीण भेगका बिपन्न महिलाहरुकालागि सशक्तीकरणका कार्यक्रमलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाइने भन्दै समूहमा आबद्ध महिलालाई मेहनत र एकताका साथ अघि बढ्न आग्रह गरे।
उनका अनुसार समूहले प्रारम्भिक चरणमै मासु उत्पादनलाई प्राथमिकतामा राख्दै पाडा पालन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ। जस अन्तरगत समूहमा आबद्ध महिलालाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी आर्थिक रूपमा सशक्त बनाउने योजना नगरपालिकाको रहेको समेत क्षेत्रीले जानकारी दिए।
बर्दिवास नगरपालिका पशु विकास शाखाका पशु अधिकृत मोहन खड्काका अनुसार पाडा पालन कार्यक्रमका लागि नगरपालिकाले आफ्नै बजेटबाट प्रत्येक समूहका महिला कृषकलाई प्रति व्यक्ति दुई वटासम्म पाडा खरिद गरेर उपलब्ध गराउनेछ। साथै पाडाको एक वर्षसम्मको जीवन बीमा, आवश्यक खोप तथा बिरामी भएमा सम्पूर्ण औषधि उपचारको व्यवस्था समेत नगरपालिकाकै आर्थिीक श्रोतबाट नि शुल्क नगरपालिकाले गर्ने जनाएको छ।





































