आज्ञा खबर
जनकपुरधाम
प्रदेश सरकारलाई दिएको समर्थन जनमत पार्टीले औपचारिक रूपमा फिर्ता लिएको छ। प्रदेश प्रमुखको कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीबाट प्राप्त पत्रअनुसार मिति २०८३ वैशाख २२ गतेदेखि समर्थन फिर्ता भएको जानकारी दिएको हो।
प्रदेश प्रमुख कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा जारी सूचनामा संविधानको धारा १६८ (२) अनुसार गठन भएको सरकारप्रति जनमत पार्टीको समर्थन समाप्त भएको उल्लेख गरिएको छ।
यसअघि जनमत पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहले सोमबार राति नै समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए। तर त्यसको भोलिपल्टै जनमत संसदीय दलका नेता तथा अर्थमन्त्री महेशप्रसाद यादवले सरकारप्रतिको समर्थन यथावत रहेको भन्दै छुट्टै पत्र पठाएपछि विषय अन्योलमा परेको थियो।
संसदीय दलको नेता र प्रमुख सचेतकमध्ये कसको पत्र आधिकारिक मान्ने भन्ने विषयमा कानुनी परामर्श चलिरहेकै बीच पार्टीभित्रै नेतृत्व परिवर्तन गरिएको थियो। मंगलबार बिहान बसेको जनमतका १२ मध्ये ९ प्रदेश सांसदहरूको बैठकले चन्दनकुमार सिंहलाई नयाँ संसदीय दलको नेता चयन गरेको थियो।
सिंहको नेतृत्वमा भएको उक्त बैठकमा अनिताकुमारी साह, सकिल आँस, हसिना खातुन, त्रिभुवन साह, रञ्जु खंग, भाग्यश्री कुमारी चौधरी, संजयकुमार यादव र शम्भुकुमार साहको सहभागिता रहेको थियो।
दलको नेतृत्व परिवर्तनसँगै प्रदेश प्रमुख कार्यालयले सिंहद्वारा पठाइएको पत्रलाई आधिकारिक मानेर समर्थन फिर्ता भएको घोषणा गरेको हो।
उल्लेखनीय छ, नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले कांग्रेससहित जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीका गरी ७७ प्रदेश सांसदको समर्थनमा सरकार गठन गरेका थिए। अब जनमत पार्टीले समर्थन फिर्ता लिएपछि प्रदेश सरकारको स्थायित्वबारे प्रश्न उठ्न थालेको छ।





































