आज्ञा खबर
बर्दिवास
धनुषाको मिथिला नगरपालिका–७, केमलीपुरमा चितुवाको आक्रमणबाट एक स्थानीय व्यक्ति घाइते भएका छन्। बुधबार बिहान ४८ वर्षीय किर्तिमान विकमाथि चितुवाले आक्रमण गर्दा उनी घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार घाइते विकको ढल्केबरस्थित एक निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले दिएको जानकारी अनुसार विकको अवस्था हाल सामान्य रहेको छ भने उनको पिठ्युँसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।
स्थानीय वडाध्यक्ष रामबहादुर स्याङ्दनका अनुसार निलगाई नियन्त्रणका लागि पासो थापिएको तारजालीमा चितुवा फसेको थियो। सोही सूचना पाएपछि घटनास्थल पुगेका विकमाथि चितुवाले अचानक आक्रमण गरेको बताइएको छ।
हाल चितुवा अझै पनि तारजालीमै फसेको अवस्थामा रहेको छ। चितुवाको सुरक्षित उद्धारका लागि वन कार्यालय र सुरक्षाकर्मीलाई खबर गरिएको जनाइएको छ।





































