आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। दलित सेवा समाज तथा कारखानाको सहयोग तथा बर्दिवास नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उनले विद्यालय तहमा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न गुनासो सुनुवाई संयन्त्र अत्यन्तै महत्वपूर्ण हुने बताए। विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूका गुनासालाई व्यवस्थित रूपमा सम्बोधन गर्न यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल सरकारले गुनासो सुनुवाई व्यवस्थापनका लागि तयार पारेको संयन्त्र प्रणालीबारे विस्तृत जानकारी तथा छलफल गरिएको थियो। विद्यालय तहमा गुनासो सुनुवाई सम्बन्धी कार्यप्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्दै असल नेतृत्व विकास गर्ने विषयमा समेत जोड दिइएको थियो।
अभिमुखीकरणका क्रममा बालअधिकार, बालबालिकाको सूचनामा पहुँच, गुनासोको परिभाषा, गुनासो पेटिका व्यवस्थापन तथा गुनासो गर्ने विद्यार्थीलाई सहयोग र प्रोत्साहन गर्ने उपायहरूबारे सहभागीहरूलाई जानकारी गराइएको थियो। साथै गुनासो सुनुवाई समितिको गठन, बैठक सञ्चालन, समितिको काम, कर्तव्य र अधिकार तथा गुनासो व्यवस्थापनको समग्र प्रक्रियाबारे अन्तरक्रियात्मक छलफल भएको आयोजकले जनाएको छ।
कार्यक्रमले विद्यालयहरूमा उत्तरदायी, पारदर्शी तथा बालमैत्री वातावरण निर्माण गर्दै विद्यार्थीहरूको आवाजलाई संस्थागत रूपमा सम्बोधन गर्ने संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रममा नगर उपप्रमुख तारादेबी महतो, प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, युवा, खेलकुद तथा शिक्षा शाखाका उपसचिव रेबती पराजुली, शिक्षा अधिकृत रोमन निरौला, वडा अध्यक्षहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको शिक्षा शाखाका अधिकृत रोमन निरौलाले जानकारी दिए।





































