आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) बिकास बमलाई मंगलबार एक कार्यक्रमबीच बिदाई तथा सम्मान गरिएको छ। बर्दिवास नगरपालिकाले आफ्नो सभाहलमा विशेष कार्यक्रम को आयोजना गर्दै उनलाई सम्मान गरेको हो।
डीएसपी बम विगत एक वर्षदेखि इलाका प्रहरी कार्यालय बर्दिवासमा कार्यरत रहँदै आएका थिए। उनले आफ्नो कार्यकालमा बर्दिवास क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बना उदै नागरिकलाई अमन चयन कायमगर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। हाल उनी प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष तालिमका लागि सरुवा भई जान लागेका छन्।

बिदाई तथा सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले डीएसपी बमको कार्यकाललाई प्रशंसनीय रहेको बताउँदै उनले बर्दिवासमा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गरे। उनले आगामी दिनमा पनि अझ सफलताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी उपप्रमुख तारादेवी महतोले बर्दिवासको समाजमा शान्ति सुरक्षा कायम गर्न डीएसपी बमले खेलेको भूमिकाको सराहना गर्दै उनको आगामी यात्राको सफलताको कामना गरिन्।
प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले पनि बमको कार्यसम्पादनको प्रशंसा गर्दै नगर र प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनेमा जोड दिएका थिए।

कार्यक्रममा डीएसपी बमलाई खादा अबिर लागाई सम्मान गरिएको थियो। बिदाई कार्यक्रममा उनले बर्दिवासमा काम गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्दै यहाँको सहयोग र आत्मीयता सधैं सम्झनामा रहने बताए। कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारी लगायको उपस्थिति रहेको थियो।





































