राष्ट्रिय खेलाडी विवेक यादव मधेसको टिमबाट खेल्ने

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम

मधेस प्रदेश क्रिकेट टिमले राष्ट्रिय स्तरका खेलाडी विवेक यादवलाई आफ्नो टोलीबाट खेलाउने निर्णय गरेको छ। सोमबार (वैशाख २१) बसेको मधेस प्रदेश क्रिकेट संघको बैठकले उक्त निर्णय सार्वजनिक गरेको हो।यादवले करिब दुई वर्षअघि नै मधेस प्रदेशबाट खेल्न इच्छुक रहेको भन्दै आवेदन दिएका थिए। सो आवेदनको अवधि पूरा भइसकेकाले उनलाई प्रदेश टिमबाट खेल्न अनुमति दिने निर्णय गरिएको संघले जनाएको छ। हाल उनी नेपाल आर्मीको विभागीय टोलीबाट सक्रिय रूपमा खेलिरहेका छन्।

यसैबीच, मधेस प्रदेश क्रिकेट टिमले आगामी असारमा भारतको बैंगलोरमा अन्तर्राष्ट्रिय अभ्यास खेल खेल्ने तयारी गरेको छ। संघका अनुसार जुन १८, १९ र २० मा त्यहाँका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गरिनेछ। साथै, इलाइट कप प्रतियोगिता पनि आगामी सिजनको सुरुआतमै आयोजना गर्ने योजना अघि बढाइएको छ।

खेलाडीहरूको म्याच फीसमेत संघले निर्धारण गरेको छ। ‘ए’ लेभलका खेलाडीलाई प्रति खेल ३ हजार रुपैयाँ, ‘बी’ क्याटोगरीका खेलाडीलाई १५ सय रुपैयाँ र ‘सी’ क्याटोगरीका खेलाडीलाई १ हजार रुपैयाँ प्रदान गरिनेछ।

त्यसैगरी, यस वर्ष केन्द्रीय कन्ट्रयाक्ट बाहेक प्रदेशस्तरमा ११ खेलाडीलाई कन्ट्रयाक्टमा राख्ने तयारी गरिएको छ। ती खेलाडी छनोटका लागि कोषाध्यक्ष सुभाष जयसवालको संयोजकत्वमा समिति गठन गरिएको संघले जानकारी दिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...