आज्ञा खबर
जनकपुरधाम
मधेस प्रदेशको प्रमुख धार्मिक तथा सांस्कृतिक केन्द्र जनकपुरधाममा पर्यटन पूर्वाधार विस्तारका लागि ठूलो निजी लगानी भित्रिने संकेत देखिएको छ। प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले यहाँको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रिय स्तरमा उकास्न ठूला परियोजना अपरिहार्य रहेको बताएका छन्।
सोमबार जनकपुरधाम उपमहानगरपालिका–१४ मा करिब दुई अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको पाँचतारे होटलको शिलान्यास गर्दै उनले जनकपुरधामलाई धार्मिक पर्यटनको स्थापित गन्तव्यबाट स्तरीय सेवासहितको समग्र पर्यटन केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार आधुनिक होटल तथा सेवा सुविधा विस्तारले आन्तरिकसँगै विदेशी पर्यटकको आकर्षण बढाउनेछ र प्रदेशको अर्थतन्त्रलाई थप चलायमान बनाउनेछ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनिष झा ले विकास निर्माणमा निजी क्षेत्रको भूमिकालाई महत्वपूर्ण भन्दै राज्य–निजी सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले पर्यटन उद्योगलाई दीगो र प्रतिस्पर्धी बनाउन नीतिगत सहजीकरण आवश्यक रहेको धारणा राखे।
परियोजना प्रवर्द्धक मिथिला हस्पिटालिटी प्रालिका अध्यक्ष रामेश्वर साहका अनुसार निर्माणाधीन होटल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उनले २०८६ साल वैशाखदेखि होटल सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए।
होटल सञ्चालनपछि करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाउने र अप्रत्यक्ष रूपमा सयौँ व्यक्तिले लाभ लिने अपेक्षा गरिएको छ।
कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।





































