आज्ञा खवर
बर्दिवास
मधेस प्रदेशका नगर अस्पतालहरूबीच गरिएको न्युनतम सेवा मापदण्ड मूल्यांकनमा वर्दिवास नगरपालिकाद्वारा सञ्चालित वर्दिवास अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गर्दै पुनः प्रथम स्थान हासिल गर्न सफल भएको छ । मधेस प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत अस्पताल महाशाखा प्रमुख डा. ईन्द्रजित रजकको नेतृत्वमा रहेको विज्ञ समूहले गरेको स्थलगत मूल्यांकनबाट वर्दिवास अस्पताल प्रदेशकै उत्कृष्ट नगर अस्पतालका रूपमा अगाडि आएको हो ।
मूल्यांकन टोलीले अस्पतालको भौतिक संरचना, चिकित्सकीय सेवा, मानव स्रोत व्यवस्थापन, औषधि आपूर्ति, सरसफाइ, आकस्मिक सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, अभिलेख व्यवस्थापन, बिरामीमैत्री सेवा तथा समग्र सेवा प्रवाहको गुणस्तरका आधारमा मूल्यांकन गरेको थियो । सो मूल्यांकनमा वर्दिवास अस्पतालले उच्च अंक ल्याउँदै प्रदेशका अन्य नगर अस्पतालहरूलाई पछि पार्न सफल भएको मन्त्रालय स्रोतले जनाएको छ ।
वर्दिबास नगरमा नगर प्रमुखको रुपमा प्रहलाद क्षेत्री आएपछि वर्दिवास नगर अस्पतालले काचुलि नै फेरेको छ । नगरको सिमति श्रोत साधनलाई अत्यधिक रुपमा परिचालन गरेर नपुग सहयोग प्रदेश,संघ तर्फ प्रयाश गर्दै अस्पताल संचालन गरीएको छ । नगरवासिको सवै स्वास्थ्य समस्या हल गर्न नसकिएपनि न्युनतम सेवा दिन सफल भएको मेयर क्षेत्रीको भनाई छ साथै अस्पताल भनेको प्राविधिक सेवा भएकोले कुनै कुनै समय मर्मत संभारको लागि सेवा प्रभावित हुने हुदा त्यसलाई पनि वैकल्पीक विधिमार्फत काम गर्न निर्देशन समेत दिएका छन् । वर्दिवास अस्पतालले यसअघि पनि न्युनतम सेवा मापदण्ड मूल्यांकनमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको थियो । यसपटक पुनः प्रथम हुन सफल हुनु अस्पताल व्यवस्थापन, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको निरन्तर प्रयास र स्थानीय सरकारको सहयोगको प्रतिफल भएको सरोकारवालाहरू बताउँछन् । सीमित स्रोत–साधनका बाबजुद पनि सेवाको गुणस्तरमा सम्झौता नगरी जनताको विश्वास जित्न सफल भएको उदाहरणका रूपमा वर्दिवास अस्पताललाई हेरिएको छ ।
मूल्यांकनपछि बोल्दै अस्पताल महाशाखा प्रमुख डा. ईन्द्रजित रजकले वर्दिवास अस्पतालले सेवा व्यवस्थापन, कार्यसम्पादन र अनुशासनमा राम्रो अभ्यास प्रस्तुत गरेको उल्लेख गरे । “नगरस्तरका अस्पतालहरूका लागि वर्दिवास अस्पताल एउटा सिकाइको केन्द्र बन्न सक्छ,” उनले भने, “यसले मधेस प्रदेशमा स्वास्थ्य सेवाको स्तर उकास्न सकारात्मक सन्देश दिएको छ ।”
वर्दिवास नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अस्पतालको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र आवश्यक उपकरण थपमा निरन्तर लगानी गर्दै आएको छ । नगरपालिकाका जनप्रतिनिधिहरूले वर्दिवास अस्पतालको उपलब्धिलाई नगरवासीका लागि गर्वको विषय भएको बताउँदै आगामी दिनमा सेवा अझै विस्तार र स्तरोन्नति गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय बासिन्दाहरूले समेत वर्दिवास अस्पतालबाट प्राप्त हुँदै आएको सेवा प्रभावकारी र भरोसायोग्य रहेको प्रतिक्रिया दिएका छन् । सुलभ, गुणस्तरीय र नागरिकमैत्री स्वास्थ्य सेवाका कारण पछिल्लो समय अस्पतालप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको देखिन्छ ।
न्युनतम सेवा मापदण्ड मूल्यांकनमा पुनः प्रथम स्थान हासिल गरेसँगै वर्दिवास अस्पतालले मधेस प्रदेशमा नगर अस्पतालहरूका लागि उदाहरणीय पहिचान बनाएको छ । यस उपलब्धिले अन्य स्थानीय तहलाई समेत आफ्ना अस्पतालहरूको सेवा गुणस्तर सुधार गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।





































