आज्ञा खबर
बर्दिवास
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको कृषि र पर्यटन क्षेत्रमा उत्पादन दोब्बर बनाउने लक्ष्यसहित काम अघि बढाइने स्पष्ट पारेका छन्। नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशद्वारा धनुषाको लालगढ स्थित गौतम होटलको नवनिर्मित रिगल बनक्युटको उद्यघाटन तथा सम्मान कार्यक्रममा बोल्दै यादवले आफू प्रदेश विकासका लागि “सिपाहीको भूमिकामा उभिएर” इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले मधेश प्रदेशमा प्रशस्त उब्जाउ जमिन हुँदाहुँदै पनि स्रोत–साधन र प्रविधिको अभावका कारण अपेक्षित कृषि उत्पादन हुन नसकेको उल्लेख गरे। अब कम लागतमा आधुनिक प्रविधि र व्यवस्थित प्रणाली अपनाएर कृषि उत्पादन कम्तीमा दोब्बर बनाइने उनको भनाइ थियो।
“मधेशमा उत्पादन भएको खाद्यान्नले मधेशकै आवश्यकता पूरा गर्नुपर्छ,” उनले जोड दिए।

मुख्यमन्त्री यादवले उच्च शिक्षाका लागि युवाशक्ति विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रदेशमै अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा प्रणाली विकास गरिनेमा जोड दिईने उल्लेख गरे।
पर्यटन विकासतर्फ संकेत गर्दै मुख्यमन्त्री यादवले मधेश आउने पर्यटक जानकी मन्दिरमै सीमित हुने अवस्था अन्त्य गरिने बताए। जानकी मन्दिरको स्तरोन्नति गरी यसलाई धार्मिकसँगै सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उनले स्पष्ट पारे।
कार्यक्रममा महोत्तरी क्षेत्र नम्बर १ (क) की मधेश प्रदेश सभा सदस्य शारदादेबी थापाले बर्दिबास–१४ मा रेल्वे ट्र्याक विस्तारका क्रममा प्रभावित १४ घरपरिवारको मुआब्जा समस्या तत्काल समाधान गर्न मुख्यमन्त्रीसँग आग्रह गरिन्। आवश्यक कागजात नपुगेको कारण ती परिवार मुआब्जाबाट वञ्चित भई घरबारविहीन अवस्थामा पुगेको उल्लेख गर्दै उनले न्यायोचित क्षतिपूर्तिको माग गरिन्।
त्यसैगरी, बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले संघ, प्रदेश र स्थानीय तहबीच सशक्त समन्वय भएमा मधेश प्रदेशको विकास तीव्र गतिमा अघि बढ्ने धारणा राखे। उनले विकासका साझा एजेन्डामा बर्दिबास नगरपालिका सधैं सहकार्य गर्न तयार रहेको बताए।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष हिरा गौतमले मधेश प्रदेशका प्रमुख पर्यटनस्थल समेटेर तयार पारिएको डकुमेन्ट्री चाँडै मुख्यमन्त्री र पर्यटन मन्त्रीको संयुक्त उपस्थितिमा सार्वजनिक गर्ने इच्छा व्यक्त गरे। साथै, नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई प्रशासनिक प्रक्रियामा अनावश्यक झन्झट हुने गुनासो गर्दै त्यसको सुधार आवश्यक रहेको बताए।
सम्मान, उद्घाटन र विकासका स्पष्ट प्रतिबद्धतासहित सम्पन्न उक्त कार्यक्रमले मधेश प्रदेशमा कृषि, पर्यटन र शिक्षा क्षेत्रको समन्वित विकासप्रति नयाँ आशा र उत्साह थपिएको सहभागीहरूको प्रतिक्रिया थियो।
