बर्दिवास–१३ बालविवाहमुक्त वडा घोषणा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर १३ लाई शनिबार औपचारिक रूपमा ‘बालविवाहमुक्त वडा’ घोषणा गरिएको छ। यो घोषणा बालविवाहजस्तो सामाजिक कुरीतिविरुद्ध समुदायले लामो समयदेखि सञ्चालन गर्दै आएको सामूहिक अभियानको महत्वपूर्ण उपलब्धि मानिएको छ ।

बालविवाह अन्त्यका लागि समुदायका शिक्षक, अभिभावक, महिला समूह, युवा स्वयंसेवी, स्थानीय बाल क्लब तथा समाजका अगुवाहरू निरन्तर रूपमा सक्रिय रहँदै आएका थिए। बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रहलादकुमार क्षेत्रीको पहल र निरन्तर प्रयास, वडा अध्यक्ष लक्ष्मण सिंहको नेतृत्व तथा सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासको सक्रियताले अन्ततः यो उपलब्धि हासिल भएको हो।

उत्साहपूर्ण घोषणा कार्यक्रम
शनिबार आयोजित घोषणा कार्यक्रममा वडाभरि उत्साहको माहोल देखिएको थियो। स्थानीय विद्यालयका विद्यार्थी, अभिभावक, महिला अधिकारकर्मी, युवा प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रहलादकुमार क्षेत्रीले बालविवाहजस्तो हानिकारक प्रथाको अन्त्य सामाजिक रूपमा गर्न बहुआयामिक सहकार्य आवश्यक रहेको बताए।
उनले भने, “थाहा पाएनौँ भनेर हुँदैन। सरकारले बनाएका नियम सबैले पालना गर्नुपर्छ। यसको प्रभावकारी कार्यान्वयन अब हामी सबैको साझा जिम्मेवारी हो।”

वडा अध्यक्ष लक्ष्मण सिंहले समुदायमा देखिएका चुनौती, अभिभावकहरूको सोच परिवर्तनका प्रयास र विद्यालय–समुदाय सहकार्यका अनुभव साझा गर्दै, “यो घोषणा अन्त्य होइन, सुरुआत हो,” भने। उनले निरन्तर निगरानी, सचेतना र सामूहिक प्रतिबद्धताको आवश्यकता औंल्याए ।

समुदायको सक्रियता र कार्यक्रम प्रभाव
सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन हुँदै आएको सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासले अभिभावक बैठक, विद्यार्थी नेतृत्व विकास, बाल क्लबको सक्रियता, बाल अधिकारसम्बन्धी नीति संवाद तथा घर–घर अभिमुखीकरणजस्ता कार्यक्रममार्फत बालविवाह रोकथाममा उल्लेखनीय प्रभाव पारेको छ ।

स्थानीय युवाहरूले आफूलाई ‘परिवर्तन दूत’ का रूपमा प्रस्तुत गर्दै बालविवाहका जोखिम र दुष्प्रभावबारे नियमित सचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन्। यसले समुदायमा सोच परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको अभिभावकहरूको भनाइ छ ।

आगामी कार्ययोजना
बालविवाहमुक्त वडा घोषणा कागजमै सीमित नहोस् भन्ने उद्देश्यसहित वडा र नगरपालिकाले विशेष कार्ययोजना बनाउने जनाएका छन्। विद्यालय, स्वास्थ्य चौकी र प्रहरीसँगको समन्वयमा ‘बालविवाह जोखिम पहिचान प्रणाली’ सञ्चालन, अभिभावक सचेतना निरन्तरता, बाल क्लब सुदृढीकरण, समुदायस्तरमा नियमित संवाद तथा सामाजिक निगरानी समूहलाई सक्रिय बनाउने योजना रहेको छ ।
बर्दिवास–१३ को बालविवाहमुक्त वडा घोषणा केवल औपचारिक कार्यक्रम मात्र नभई सामाजिक रूपान्तरणतर्फको एक महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। समुदाय, स्थानीय सरकार, संस्था र युवाहरूको साझा प्रयासबाट सकारात्मक परिवर्तन सम्भव हुने प्रमाण यसले प्रस्तुत गरेको छ ।

कार्यक्रममा उपप्रमुख तारादेवी महतो, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, सेभ द चिल्ड्रेनका प्रतिनिधि सामुदायिक विकास तथा पैरवी मञ्चका उपाध्यक्ष सोमबहादुर कार्कीसहित विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...