न्यानो कपडा वितरण अभियानको उद्घाटन गर्दै नगरप्रमुख क्षेत्रीको घोषणा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिवासकै पिछडिएको क्षेत्र वडा नम्बर ५को बरडाडाँमा रहेको खानेपानीको समस्या स्थानीय सरकारको दोस्रो कार्यकालमा समाधान गरिएको बताएका छन्।

महोत्तरीको बर्दिवासमा क्रियाशील सामाजिक संस्था सबैकालागि हामीले शुक्रबारदेखि सञ्चालनमा ल्याएको न्यानो कपडा वितरण अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले यस्तो बताएका हुन्। उनले आफू निर्वाचित भएपछि बरडाडाँजस्ता पिछडिएका बस्तीमा आधारभूत आवश्यकता पूरा गर्न प्राथमिकताका साथ काम गरिएको उल्लेख गरे।

नगरप्रमुख क्षेत्रीले आफ्नो कार्यकालमा अतिरिक्त शिक्षालाई प्राथमिकतामा राखेर विद्यार्थीको बौद्धिक तथा सर्वाङ्गीण विकासमा उल्लेखनीय सुधार भएको दाबी गरे। “शिक्षामा गरिएको लगानी नै भविष्यको बलियो आधार हो,” उनले भने।

उद्घाटन कार्यक्रममा नगरप्रमुख क्षेत्रीले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै बरडाडाँ आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत शारीरिक रूपमा फरक क्षमता भएका छात्र सुसान्त योन्जनको उपचारदेखि उच्च शिक्षा हासिल गर्न लाग्ने सम्पूर्ण खर्च आफ्नै निजी सम्पत्तिबाट व्यहोर्ने घोषणा गरे। त्यसैगरी लामो समयदेखि बिरामी रहेका बरडाडाँकै ८० वर्षीय गंगा बहादुर थिङ र उनकी श्रीमतीको उपचारका लागि आवश्यक सम्पूर्ण खर्चको व्यवस्थापन पनि गरिदिने क्षेत्रीले प्रतिबद्धता जनाए।

नगरप्रमुखको यस्ता मानवीय तथा सामाजिक कार्यप्रति स्थानीय बासिन्दाले आभार व्यक्त गर्दै स्थानीय सरकार नागरिकको सुख–दुःखमा सधैँ साथमा रहेको बताएका छन्।

यसैबीच, सामाजिक संस्था सबैकालागि हामी ले विगत चार वर्षदेखि हरेक जाडो मौसममा न्यानो कपडा वितरण गर्दै आएको जनाएको छ।

यस वर्षको अभियान बर्दिवास–५ स्थित बरडाडाँ आधारभूत विद्यालयका ५२ जना छात्रछात्रालाई ज्याकेट, टोपी र मोजा वितरण गरेर अभियान सुरु गरिएको संस्थाका अध्यक्ष सुनिल साहले जानकारी दिए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...