आज्ञा खबर
बर्दिवास
बालबालिकाको आवाज सुन्ने, उनीहरूलाई अभिव्यक्तिको सहज वातावरण उपलब्ध गराउने तथा निर्णयकर्तासँग प्रत्यक्ष संवाद गराउने उद्देश्यले महोत्तरीको बर्दिवासमा शुक्रबार ‘बाल कचहरी’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगर बाल सञ्जाल बर्दिवासको आयोजनामा, बर्दिवास नगरपालिकाको सहकार्य र सेभ द, चिल्ड्रेनको सहयोग तथा सामुदायिक विकास तथा पैरबी मञ्च नेपालको समन्वयमा सम्पन्न गरिएको हो।
कार्यक्रमका क्रममा बाल कचहरी के हो, किन आवश्यक छ तथा यसको अवधारणा कुन–कुन विषयसँग सम्बन्धित छ भन्नेबारे विस्तृत छलफल गरिएको सामुदायिक विकास तथा पैरबी मञ्च नेपालका वकाmत तथा पैरबी अधिकृतले जानकारी दिए ।
बालमैत्री सेवा, योजना र नीतिमा सुधार गर्न वकालत गर्ने, स्थानीय तह तथा सरोकारवालाको जवाफदेहिता अभिवृद्धि गर्ने, र बाल–बालिकालाई निर्णय प्रक्रियामा सहभागी गराउने लक्ष्य कार्यक्रमले लिएको थियो।
बालबालिकाहरूले शिक्षा, स्वास्थ्य, बालविवाह, विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था, बालश्रम, विद्यालयको अतिरिक्त क्रियाकलाप, किशोरीहरूले प्रयोग गर्ने सेनेटरी प्याडको उचित व्यवस्थापन तथा बालमैत्री सिकाइ,बाल सुरक्षाको वातावरणजस्ता विषयमा आफ्ना धारणा तथा समस्याहरू राख्दै छलफल गरेका थिए। उनीहरूले स्थानीय तह तथा सरोकारवालासमक्ष आफ्ना माग तथा सुझावहरू स्पष्ट रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रममा बर्दिवास नगरपालिकाका उपप्रमुख तारादेवी महतो, स्वास्थ्य शाखाका प्रमुख सुरेश पासवान, महिला तथा बालबालिका शाखा प्रमुख सिता अधिकारी, रोजगार शाखा प्रमुख लबकुमार यादव, बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु बहादुर खड्का लगायत जनप्रतिनिधि, सरोकारवाला तथा बालबालिकाको सक्रिय सहभागिता रहेको बताइएको छ।
स्थानीय तहमा बालमैत्री नीति तथा कार्यक्रम लागू गर्न, बाल–बालिकाको अधिकार सुनिश्चित गर्न तथा उनीहरूको आवाज सरकारी संयन्त्रसम्म पु¥याउन ‘बाल कचहरी’ महत्वपूर्ण माध्यम बनेकाले बाल अधिकार सम्बन्धि ठोस कार्ययोजना तय गरेर अघि बढने निर्णय समेत कार्यक्रममा गरीएको छ।
