आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–७ मा आइतबार एक महत्त्वपूर्ण सामाजिक रुपान्तरण अभियानको केन्द्रबिन्दु बन्यो। बालविवाहमुक्त वडा घोषणा गर्ने लक्ष्यसहित नगर उपप्रमुख तारादेवी महतोको नेतृत्वमा गरिएको घरदैलो अनुगमन तथा सामुदायिक छलफल अभियानले स्थानीय बासिन्दामा नयाँ जागरण मात्र फैलाएन, बरु वडालाई बालमैत्री बनाउने दिशामा प्रष्ट कदम पनि बढयो
सहयोग, समन्वय र सहभागिताको उदाहरण
बर्दिवास नगरपालिकाको आयोजनामा, सेभ द चिल्ड्रेनको सहयोग तथा सामुदायिक विकास तथा पैरबी मञ्चको समन्वयमा सम्पन्न अनुगमन टोली वडाका विभिन्न टोल–बस्तीमा पुग्दा स्थानीयको उत्साहजनक स्वागत भेटियो।
अनुगमन टोलीमा बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, महिला तथा बालबालिका शाखाका प्रतिनिधि, सेभ द चिल्ड्रेनका प्रतिनिधि, पैरबी मञ्चका सदस्य, वडा नं. ७ का अध्यक्ष रामस्वगारथ यादव तथा स्थानीय अगुवाहरूको सक्रिय उपस्थिति रहेको थियो।
समुदायिक सरोकारवाला, नागरिक समाज तथा स्थानीय नेतृत्व एकै ठाउँमा उभिएको यो संयोजनले बालविवाहविरुद्ध सामुदायिक प्रतिबद्धता बलियो हुँदै गएको देखाउँछ।
मनहरिपुरदेखि जुरेटोलसम्म : चेतनाको घरदैलो यात्रा

अनुगमन टोलीले मनहरीपुर, जुरेटोल, फुलवारीटोल हुँदै प्रेम नगरसम्मका स्थानीयसँग अन्तरक्रिया गर्यो।
छलफलको केन्द्रमा थियो—
- “बालविवाह रोकौं, बालअधिकारको संरक्षण गरौं” भन्ने मुख्य सन्देश
- बालविवाहबाट सामाजिक, मानसिक र शारीरिक प्रभावहरू
- कानुनी प्रावधान र यसको उल्लंघनले पर्ने जोखिम
- बालबालिकालाई सुरक्षित, सम्मानजनक र स्वस्थ भविष्य प्रदान गर्न अभिभावक तथा समुदायको भूमिका
स्थानीय महिलादेखि युवासम्म, बुढेसकालदेखि विद्यालय आयुका अभिभावकसम्म सहभागी भएपछि छलफलमा खुलापन र साझा जिम्मेवारीको भावना झल्किन पुग्यो।
घर–घरमा प्रतिबद्धता : ‘अब हाम्रो गाउँमा बालविवाह हुँदैन’
घरदैलोका क्रममा अधिकांश अभिभावकले अबका दिनमा आफ्नै परिवारमा बालविवाह नगर्ने मात्र होइन, गाउँ–समाजमै यस्तो प्रचलन हुन नदिने प्रस्ट प्रतिवद्धता जनाए।
यो परिवर्तनको संकेत मात्रै होइन, समुदायभित्रका मानिसको आफैँबाट उठेको जागरणले वडालाई बालविवाह मुक्त घोषणा गर्न सहज पथ बनाउँदैछ।
एक स्थानीय अभिभावक सुरेन्द्र कुमार महतोले भने,
“पहिले बालविवाह साधारण कुरा जस्तै लाग्थ्यो, अब हामी ले बुझ्यौँ—छोराछोरीको भविष्य बर्बाद बनाउने कुरा रहेछ। अब यस्तो गल्ती हाम्रो गाउँमा दोहोरिन दिनेछैनौं।”
किन आवश्यक छ वडास्तरमै हस्तक्षेप ?

नेपालका ग्रामीण बस्तीहरूमा अझै पनि सामाजिक दबाब, गरिबी, अशिक्षा र विवाह संस्कारप्रतिको व्यापक गलत बुझाइका कारण बालविवाह रोक्न चुनौती छ।
त्यही कारण,
- वडास्तरमै प्रत्यक्ष संवाद,
- घर–घरमा पुगेको सचेतना,
- स्थानीय नेतृत्वको सक्रियता,
- अभिभावकको प्रतिवद्धताआवश्यक देखिए/
यस अभियानलाई प्रभावकारी बनाउने मुख्य आधार बनेको छ।
बालमैत्री बर्दिवासको दिशातर्फ कदम

बालविवाहमुक्त वडा घोषणा केवल एउटा औपचारिक प्रक्रिया होइन, सामाजिक परिवर्तनको लामो यात्राको आधारशिला हो।
वडामा देखिएको समुदायको सक्रियता र नेतृत्वको दृढता हेर्दा बर्दिवास–७ अब केवल बालविवाहमुक्त वडा होइन, बालमैत्री समाज निर्माणको मार्गमा अघि बढेको छ।
बर्दिवास–७ मा भएको घरदैलो अनुगमन अभियानले एउटा गहिरो सन्देश दिएको छ—
सामुदायिक जागरण, सहयोग र सामूहिक प्रतिबद्धता भए परिवर्तन सम्भव छ।

स्थानीयहरूको प्रतिबद्धता, नगर नेतृत्वको पहल र सहयोगी संस्थाको समर्थनका कारण यो वडा अब निकट भविष्यमै बालविवाहमुक्त घोषित हुने अपेक्षा पलाएको छ।
यो प्रयास केवल एक वडाको परिवर्तन होइन, सम्पूर्ण नगर पालिकाका लागि प्रेरणादायी उदाहरण बन्न सक्ने बिश्वास लिईएको छ।
