आज्ञा खबर
बर्दिवास
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको समन्वय र प्राविधिक सहयोगमा, बर्दिवास नगरपालिकाले बिहीबार बर्दिवास–१० खयरमारा स्थित आधारभूत स्वास्थ्य केन्द्र र अरुणडाँडा मुलखोला कृषक समूहको अनुगमन गरेको छ।
नगरपालिकाद्वारा गरिएको अनुगमनका क्रममा स्वास्थ्य केन्द्रमा उपलब्ध सेवा, औषधि, उपकरण, स्वास्थ्यकर्मीको उपस्थिती, सुरक्षित मातृत्व सेवा, लैंगिक हिंसा तथा बाल संरक्षणसम्बन्धी सचेतना लगायतका विषयमा जानकारी लिइएको थियो।
आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख जितबहादुर श्रेष्ठका अनुसार स्वास्थ्य केन्द्रमा हाल ओपीडी, एएनसी, पीएनसी लगायतका सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन्। उनले पुरुष, महिला र बालबालिकालगायत लाभग्राहीको पहुँच बढ्दै गएको जानकारी दिएका थिए। साथै औषधि तथा उपकरणको उपलब्धता, मातृत्व सेवाको अवस्था र स्वास्थ्यकर्मीको क्षमतामा सुधार भइरहेको उनले बताए।

अनुगमन टोलीले त्यसपछि अरुणडाँडा मुलखोला कृषक समूहमा पुगेर समूहको सदस्य संख्या, बैठकको नियमितता, अनुदान तथा आम्दानी सम्बन्धी प्रगति, उत्पादन र तालिमको अवस्था, सरकारी तथा गैरसरकारी सहयोग, बजार पहुँच, उत्पादन भएका तरकारी तथा फलफूलको बिक्री व्यवस्थापन लगायतका विषयमा जानकारी लिएको थियो।
त्यसक्रममा टोलीले महिला र दलित सदस्यहरूको सहभागिता, जलवायु स्मार्ट अभ्यास, सहयोग सामग्रीको उपयोग र वर्तमान अवस्थाको समेत अवलोकन गरेको थियो।
अनुगमन टोलीमा बर्दिवास नगरपालिकाका सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधि, सेभ द चिल्ड्रेनका प्रतिनिधि र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका उपाध्यक्ष सोमबहादुर कार्कीका अनुसार, अनुगमनको उद्देश्य नगर क्षेत्रमा सञ्चालित स्वास्थ्य र कृषिसम्बन्धी कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्नु तथा सेवाको गुणस्तर सुधारका लागि सुझाव संकलन गर्नु रहेको छ।
उनका अनुसार, अनुगमनबाट प्राप्त निष्कर्ष र सुझावहरूका आधारमा आगामी दिनमा स्वास्थ्य सेवा विस्तार र कृषक समूह सशक्तीकरणका कार्यक्रमहरू अझ प्रभावकारी बनाइने छन्।
