आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवद्वारा पदभार ग्रहणसँगै पहिलो निर्णय सार्वजनिक भएको छ। सर्वोच्च अदालतले उनको नियुक्ति प्रक्रियामा प्रारम्भिक रूपमा संवैधानिक शंका व्यक्त गर्दै ‘दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न’ अन्तरिम आदेश जारी गरे पनि यादवले मंगलबार साँझ पदभार ग्रहण गरेका हुन्।
मुख्यमन्त्री बनेको केहीबेरमै उनले सहिद परिवारलाई आर्थिक सहयोगसहित ‘मधेश विभूति’ सम्मान प्रदान गर्ने निर्णय गरेका छन्। पदभार ग्रहणका लागि उनी दक्षिणपट्टि रहेको सशस्त्र प्रहरी बलको ब्यारेक मार्ग प्रयोग गर्दै मुख्यमन्त्री कार्यालय पुगेका थिए।
यसैबेला मधेश भवन आसपासको क्षेत्र पनि राजनीतिक रूपमा तनावग्रस्त बनेको थियो। सात दलनिकट कार्यकर्ताहरूले पूर्व–पश्चिम सडक खण्डतर्फ धर्ना र विरोध प्रदर्शन गरिरहेका थिए। सर्वोच्चको आदेश आएपछि प्रदर्शनमा सहभागी समूहले खुसी प्रकट गर्दै नाराबाजी गरेका थिए। तर यादवले पदभार ग्रहण गरेको जानकारी प्राप्त भएपछि भीडको नाराबाजी तीव्र बन्दै गएपछि अवस्था थप तनाबपूर्ण बनेको थियो।
स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले लाठीचार्ज गरेको थियो। त्यसपछि भीड तितरबितर भए पनि केही प्रदर्शनकारीले रेल लिकतर्फबाट ढुंगा ल्याई प्रहरीतर्फ प्रहार गरेको सुरक्षा निकायले जनाएको छ। घटनास्थलको परिस्थिति अहिले सामान्य अवस्थामा फर्किएको बताइएको छ।
घाइतेको विषयमा भने प्रहरीले यकिन विवरण संकलन भइरहेको जानकारी दिएको छ।
