आज्ञा खबर
बारा
बारागढी गाउँपालिका–६ का वडाध्यक्ष निरज साह तेलीको बिहीबार राति निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेका ४६ वर्षीय तेलीको उपचारको क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा निधन भएको हो।
वडाध्यक्ष तेलीका काका तथा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहका अनुसार पछिल्लो केही महिनादेखि उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो। चिकित्सकको निरन्तर उपचारमा रहे पनि अन्ततः उनलाई बचाउन सकिएन।
तेली स्थानीय राजनीतिमा सक्रिय परिचित व्यक्ति थिए। उनले स्थानिय सरकारको पहिलो कार्यकालमा जनता समाजवादी पार्टी (जसपा)बाट वडाध्यक्ष निर्वाचित हुँदै जनप्रतिनिधिको जिम्मेवारी सम्हालेका थिए भने दोस्रो कार्यकालमा नेपाली कांग्रेसको तर्फबाट पुनः निर्वाचित भएका थिए।
उनी सामाजिक काममा पनि अग्रसर रहँदै आएका थिए। स्थानीयस्तरमा स्वास्थ्य र पूर्वाधार विकासका कार्यक्रम अघि बढाउन उनले उल्लेखनीय भूमिका खेलेका थिए।
उनले श्रीमती, दुई छोरी र एक छोरालाई परिवारका रूपमा छोडेका छन्।
स्थानीयवासीले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सेवाभावी जनप्रतिनिधिका रूपमा उनलाई सम्झिरहेका छन्।
बारागढी–६ का वडाध्यक्ष निरज साह तेलीको निधन
© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
