सर्मिला घिमिरे
बर्दिवास
धनुषाको बटेश्वर गाउँपालिका–२, सितापुर खोरियास्थित खेल मैदानमा सम्पन्न १३औं वनदेवी माई अध्यक्ष गोल्डकप–२०८२ को उपाधि वीरगञ्ज यूनाइटेड पर्साले जितेको छ। मंगलवार सम्पन्न रोमाञ्चक फाइनल खेलमा वीरगञ्जले जनसेवी फुटबल क्लब बर्दिवासलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विजेता बनेको हो।
निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। खेलको सुरुवातमै जनसेवी बर्दिवासले गोल गर्दै अग्रता लिएको थियो। तर, त्यसको १० मिनेटमै वीरगञ्ज यूनाइटेडले बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाएको थियो। अन्ततः पेनाल्टीमा वीरगञ्जले एक गोलको अग्रता बनाउँदै उपाधि आफ्नो पक्षमा पारेको हो।
विजेता टिम वीरगञ्ज यूनाइटेड पर्सालाई बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो र उपाध्यक्ष फूलकुमारी सिंहले एक लाख पञ्चपचास हजार रुपैयाँको नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरे। त्यस्तै, उपविजेता जनसेवी फुटबल क्लब बर्दिवासलाई मेडलसहित ५५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको थियो।
व्यक्तिगततर्फ विभिन्न शीर्षकमा पनि उत्कृष्ट खेलाडीहरू सम्मानित भए।
- सर्वोत्तम गोलकिपर: वीरगञ्जका दिलीप मणि चौधरी – नगद रु २,००५ र ट्रफी
- सर्वोत्तम डिफेन्डर: जनसेवी बर्दिवासका क्याप्टेन कुलद्वीप कार्की – नगद रु २,००५ र ट्रफी
- सर्वोत्तम मिडफिल्डर: वीरगञ्ज यूनाइटेडका अभिषेक चौधरी – नगद रु २,००५ र ट्रफी
- सर्वाधिक गोलकर्ता: वीरगञ्ज यूनाइटेडका अभिषेक चौधरी – नगद रु २,००५ र ट्रफी
- सर्वोत्तम प्रशिक्षक: वीरगञ्ज यूनाइटेडका मुन्ना चौधरी – नगद रु २,००५ र ट्रफी
कार्यक्रमका अध्यक्ष नरेन्द्रप्रसाद रायले खेलकुदको माध्यमले युवाहरूलाई अनुशासित, मानसिक र शारीरिक रूपमा बलियो बनाउन सहयोग पुग्ने बताए। “खेल केवल मनोरञ्जनका लागि होइन, यो जीवनशैली र अनुशासनको पाठ हो,” उनले भने।
कार्तिक २ गतेदेखि सुरु भएको वनदेवी माई अध्यक्ष गोल्डकप ११ गतेसम्म निरन्तर चल्दै अत्यन्त सफलतापूर्वक सम्पन्न भएको आयोजक वनदेवी माई क्लबले जनाएको छ। आयोजकले खेलकुदका माध्यमबाट गाउँमा एकता, सहकार्य र स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको पनि बताइएको छ।
