१३औं वनदेवी माई गोल्डकप फुटबल प्रतियोगिता बटेश्वरमा सुरु

[sharethis-inline-buttons]

शर्मिला घिमिरे
बर्दिवास
धनुषाको बटेश्वर गाउँपालिका–२, सीतापुरस्थित वनदेवी रङ्गशालामा आईतवारदेखि १३औं वनदेवीमाई गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअश्सि महतोले प्रतियोगिताको उद्घाटन गरेका छन। उद्घाटनको क्रममा उनले खेलले युवामा अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गराउने प्रयास गरेको बताए।
उनले यस प्रकारका प्रतियोगिताहरू अत्यन्तै महत्वपूर्ण रहेको समेत जनाए।
प्रतियोगितामा जनसेवी फुटबल क्लब बर्दिबास (महोत्तरी), कटारी फुटबल क्लब (उदयपुर), वनदेवी युवा क्लब (सीतापुर धनुषा), गोलबजार युनाइटेड (सिराहा), रोमन फुटबल क्लब (हरिवन सर्लाही), धनुषा जिल्ला फुटबल संघ (धनुषा), बीरगञ्ज युनाइटेड (पर्सा) र न्यू शिवशक्ति युवा क्लब (सिन्धुली) गरी देशका विभिन्न जिल्लाका नाम चलेका टोलीहरूको सहभागिता रहेको छ।

आयोजक वनदेवीमाई युवा क्लब, बटेश्वर–२ का अनुसार, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टोलीले नगद रु १ लाख ५१ हजारसहित शिल्ड र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद रु ५५ हजारसहित शिल्ड र मेडल प्रदान गरिनेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड आदिलाई पनि छुट्टाछुट्टै नगद, शिल्ड तथा मेडलद्वारा सम्मान गरिनेछ।

वनदेवी माई युवा क्लब बटेश्वर–२, धनुषाको आयोजना तथा बटेश्वर गाउँपालिका–२ को संरक्षणमा सञ्चालित उक्त प्रतियोगिताको उद्देश्य नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नु, प्रतिभाशाली खेलाडीको पहिचान र विकास गर्नु तथा खेलमार्फत गाउँबीच आपसी सद्भाव र एकता सुदृढ पार्नु रहेको आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, व्यवसायी, खेलप्रेमी र विभिन्न गाउँटोलका युवाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो। खेलमैदानमा दर्शकहरूको उत्साहले वातावरण थप जीवन्त बनेको थियो। आयोजकका अनुसार, सञ्चालनको अन्तिम दिन विजेता टोलीलाई पुरस्कार वितरण गर्दै समापन गरिनेछ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...