आज्ञा खबर
बर्दिवास
पोलियोमुक्त समाजको सन्देश फैलाउने उद्देश्य ले विश्व पोलियो दिवसको अवसरमा बर्दिवासमा मिनी म्याराथन दौड प्रतियोगिता हुने भएको छ। रोटरी क्लब अफ बर्दिवास र रोट्रयाक क्लब अफ बर्दिवासको संयुक्त आयोजनामा यही अक्टोबर २४ (कात्तिक ८ गते) प्रतियोगिता आयोजना गरिने भएको हो।
शनिवार बर्दिवासमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिंदै युवाहरूमाझ स्वास्थ्य सचेतना र सामाजिक एकताको सन्देश फैलाउने लक्ष्य रहेको बतायो।
रोटरी क्लब अफ बर्दिवासका अध्यक्ष सिताराम ढुंगेलले “विश्व पोलियो दिवसको दिनलाई केवल सम्झनामा सीमित नराखी, शारीरिक तन्दुरुस्ती र जनचेतनाको अभियानका रूपमा मनाउने हाम्रो प्रयास हो। भनेका छन उनले भने,, दौडमार्फत हामी पोलियोविरुद्धको सन्देशलाई जनस्तरसम्म पुर्याउन चाहन्छौं।”
आकर्षक पुरस्कार र सहभागिता शुल्क
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन जना विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।
- प्रथम हुनेलाई रु. २१,०००,
- दोस्रो हुनेलाई रु. ११,०००,
- तेस्रो हुनेलाई रु. ५,१००
नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले रु. ५०० प्रवेश शुल्क तिरेर आफ्नो नाम दर्ता गर्नुपर्नेछ। नाम दर्ताको अन्तिम म्याद कात्तिक ७ गते (अक्टोबर २३) सम्म रहनेछ।
‘दौडमार्फत सन्देश’
विश्व स्वास्थ्य संगठन, रोटरी इन्टरनेशनल, युनिसेफलगायतका संस्थाको प्रयासपछि नेपालले सन् २०१४ मा पोलियोमुक्त देशको दर्जा पाएको भए पनि सचेतना अभावका कारण निरन्तर जनजागरण आवश्यक रहेको आयोजकले बताएको छ।
“पोलियो भूतकालको रोग हो, तर त्यसबारे सचेतना भविष्यका पुस्तामा पनि कायम रहन जरुरी छ। यही सन्देशका लागि दौडमार्फत समुदायलाई जोड्न खोजिरहेको आयोजकले जनाएको हो।”
युवा र स्वास्थ्य अभियान
बर्दिवासका स्थानीय युवामाझ यो मिनी म्याराथनले ठूलो उत्साह ल्याउने बिश्वास लिईएको छ। विद्यालय, कलेज र खेलकुदमा संलग्न युवाहरूले यसलाई आत्मअनुशासन, स्वास्थ्य र सामाजिक उत्तरदायित्वसँग जोडेर हेरेका छन्।
बर्दिवास–५ का स्थानीय एक युवा भन्छन्, “पोलियोविरुद्धको सन्देशमात्र होइन, यस्तो कार्यक्रमले समुदायमा खेलप्रतिको रुचि र सक्रियता पनि बढाउँछ।”
मार्ग र व्यवस्थापन
प्रतियोगिता बर्दिवासको मुख्य सडक मार्ग हुँदै सम्पन्न हुने जनाइएको छ। सुरक्षा, स्वास्थ्य र ट्राफिक व्यवस्थापनका लागि नगरपालिका र इलाका प्रहरी कार्यालयसँग सहकार्य गरिने आयोजक समितिले जानकारी दिएको छ।
स्वस्थ समाजको दिशामा कदम
रोटरी र रोट्रयाक क्लब बर्दिवासले यसअघि पनि रक्तदान, वृक्षारोपण, सरसफाइ र शिक्षा क्षेत्रका सामाजिक अभियान सञ्चालन गर्दै आएको छ। यस म्याराथनलाई पनि समुदायमा सकारात्मक सोच र स्वास्थ्यप्रेमी जीवनशैली प्रवर्द्धन गर्ने अवसरका रूपमा लिइएको छ।
“हामी निरन्तर दौडिरहेका छौं—पोलियोमुक्त, स्वस्थ र जागरूक समाजका लागि,” जस्मा आयोजकको नारा झल्किन्छ।
विश्व पोलियो दिवसको अवसरमा आयोजना हुने यो मिनी म्याराथनले बर्दिवासलाई फेरि एकपटक स्वास्थ्य, खेल र सेवाका साझा उद्देश्यमा एकताबद्ध गर्ने विश्वास गरिएको छ।
